होमपेज / समाज
मुगु । नेपाल–चीन सीमामा पर्ने मुगुको उत्तरी क्षेत्र नाक्चेलाग्ना नाका भाेलिदेखी दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीले थलापारे पछि बन्द रहेको नाक्चेलाग्ना नाका गत वर्ष झैँ यस वर्ष पनि साउन २५ गते देखि भदौ ७ गतेसम्म सञ्चालमा आउने भएपछि मुगुबासी र चिनियाँ नागरिकहरु बीच दैनिक उपभोग्य वस्तु लगायत अन्य वस्तुको कारोबार हुने भएको छ । चीन र मुगुको कार्मारोङ गाउँपालिकाको साझा सहमतिमा गृह मन्त्रालयको निर्देशन अनुसार चीनको स्वशासित क्षेत्र ह्यजिमारमा दुई पक्षीय व्यापार मेलाका लागि नाका खुला हुन लागेको हो । यस क्षेत्रमा नेपालको तर्फबाट व्यापार गर्न जानको लागि नेपालीहरुले अनुमति पत्र लिनु पर्ने व्यवस्था रहेकाे छ ।
हालसम्म २०३ जनाले नयाँ अनुमति र २६७ जनाले पुरानै अनुमति पत्रलाई नवीकरण गरी ५१५ जनाले अनुमति पत्र लिएको मगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार त्यस क्षेत्रमा हुन सक्ने अवैध र आपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त प्रहरी परिचालन गनरिने भएको छ । नाक्चेलाग्ना नाका नेपाल चीन जोड्ने सबैभन्दा छोटो र सहज नाकाको रुपमा रहेको भएपनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन् । यद्यपि, विगतमा हरेक वर्षको भाद्र महिनामा पनि यो नाका करीब दुई साताका लागि खुल्ने गरेको थियो । तर, कोरोना महामारीको समयमा बन्द भएर लामो समयसम्म खुल्न नसकेको नाका गत वर्षदेखि फेिर सञ्चालनमा आउन थालेको हो ।
दुई साताका लागि नाका सञ्चालनमा आउने भएपछि चीनतर्फको ह्याँजीमार बजारमा हाटबजार समेत लाग्ने भएको छ । यद्यपि, नेपालतर्फ सडक सञ्जालको अवस्था राम्रो नहुँदा स्थानीयले हाट बजारमा किनेको सामान ल्याउन समेत ल्याउन समस्या भएको छ । स्थानीयहरुले अहिले चौंरी, घोडा, याक, भेडाबाट सामान ढुवानी गर्ने गरेका छन् । ह्याँजीमारमा सञ्चालन हुने हाटबजार भने कम्तीमा पनि ३ देखि ६ महिनाको लागि सञ्चालन गर्न नेपाल सरकारले पहल गरिदिए राम्रो हुने त्यहाँका स्थानीय जनप्रतिनिधीहरुले बताएका छन् ।
हाटबजारबाट मुगु, जुम्ला तथा हुम्लाका नागरिकले आफूहरूलाई वर्षभरि चाहिने मैदा, चामल, नुन, तेल छुर्पी, घिउ, विद्युतीय सामाग्री, जस्तापाता, सिमेन्ट लगायतका निर्माण सामाग्री मिठाई, पेय पदार्थ, लत्ता कपडा, घरायसी सामग्री किनमेल गर्ने गर्दछन् । साथै, स्थानीय व्यापारीले नेपालबाट जडीबुटी, यार्सा, काठका लौरी, स्याउ, आरु, चुली लगायतका फलफूल तरकारी लगायतका सामाग्रीहरु चिनियाँ व्यापारी पक्षसँग सामानमै साट्ने तथा बेच्ने गर्दछन् ।
मुगुका स्थानीय व्यापारी च्यावा लामाका अनुसार यो नाका वर्षको एकपटक मात्र खोलिने गरिन्छ । लामाले भने कम्तीमा ३ देखि ६ महिनासम्म नाका सञ्चालनमा आएपछि निकै राहात हुने गरेकाे उनकाे भनाई छ । अहिले स्थानीय व्यापारीले रसुवा नाकाबाट काठमाडौ, नेपालगञ्ज हुँदै सुर्खेत हुँदै मुगुमा चर्काे मूल्य हालेर सामान आयात गरिरहेको उनले बताए । मुगुको सदरमुकाम गमगढीदेखि नाक्चेलाना नाका जोड्ने ८७ किमी लामो सडक विसं २०६३ सालदेखि निर्माण सुरु भएको भए पनि हालसम्म १७ किलोमिटर मात्र ट्रयाक खोलिएको छ । यसका लागि हालसम्म करिब १८ करोड रुपैयाँ खर्च भइसकेको छ ।