होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले सोमबार वीरेन्द्रनगर सुर्खेतमा आगामी पाँच वर्षे रणनीतिक योजना निर्माण सम्बन्धी सरोकारवालाहरुको उत्साहजनक सहभागितामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन परिषदद्वारा आयोजित उक्त कार्यशाला गोष्ठीमा उपकुलपति एवम् परिषद्का अध्यक्ष प्रा. डा. ध्रुवकुमार गौतमले विश्वविद्यालयको रणनीतिक योजना निर्माणको लागि सो गोष्ठी प्रारम्भिक खुट्किलो भएको बताउँदै यस किसिमको सामूहिक विचार मन्थनबाट नयाँ विचार निर्माण हुनुका साथै सरोकारवाला पक्षलाई अपनत्वबोध हुने बताउनुभयो ।
उपकुलपति प्रा. डा. गौतमले रणनीतिक योजना लक्ष्य प्राप्तिको साधन भएकाले योजना निर्माणको मियो बनेर साध्यमा पुग्ने गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न योजना निर्देशनालयलाई अपिल गर्नुभयो । विश्वविद्यालयको समग्र विकासको लागि रणनीतिक योजना कसरी तर्जुमा गर्ने भन्ने सम्बन्धमा सहभागीहरु माझ उपकुलपति गौतमद्वारा प्रस्तुत खाका उपर गहन छलफल भएको थियो । कार्यक्रमका सहभागीहरुलाई स्वागतसँगै विषय प्रवेश गराउँदै रजिष्ट्रार एवम् परिषद्का सदस्य प्रा. डा. शोभाखर कँडेलले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्ने गरी योजना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसी सहित अधिकृतद्वय सैलेन्द्र पाठक र दिनेश गौतमले छलफलमा उठेका विषयहरु टिपोट गर्नुभएको थियो । विभिन्न संकायका डीन, कार्यकारी निर्देशक, विभागीय प्रमुख, स्ववियु प्रतिनिधि लगायत शिक्षक, कर्मचारी सहभागी कार्यक्रमको संचालन योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् परिषद्का सदस्य-सचिव डा. विष्णुकुमार खड्काले गर्नुभएको थियो ।