होमपेज / समाज
हुम्ला । अविरल वर्षाका कारण अवरुद्ध हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक फेरी सञ्चालनमा आएको छ । खच्चा सडकमा माथिबाट खसेको पहिरो एक्साभेटरले फालेपछि पुन सञ्चालनमा आएको हो । पहिरो खसेर अवरुद्ध भएको खच्चामा एक्साभेटर तयारी अवस्थामा राखिएकाले समयमै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले भने। अवरुद्ध खच्चा सडकखण्ड सञ्चालनमा आएपछि दुवैतर्फका सवारीसाधन आउजाउ गर्न पाएका छन् ।
आइतबारदेखि अवरुद्ध भएको सडक डोजर ल्याएर पहिरो पन्छाएपछि नेपालगन्ज सुर्खेतबाट आएका र सिमकोटबाट आएका सवारीसाधनसँगै यात्रु सोमबार गन्तव्यमा लागेका छन् । वर्षाले सडक अवरुद्ध हुँदा जिल्लाबाहिरबाट सदरमुकाम सिमकोटसहित आसपासमा भित्रिने तथा बाहिरिने मालवाहक ट्रक, बोलेरो जिपलगायत अन्य सवारीसाधन रोकिएका थिए । सोमबार दिउँसो सडकखण्ड सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ ।
सो सडक अवरुद्ध भएको खच्चामा एक मात्र होटेल भएकाले यात्रुलाई आइतबार निकै सास्ती भोग्नु परेको स्थानीय जैरका राजबहादुर बुमीले बताए । सो क्षेत्रमा सवारीसाधन र मानिस बसिरहँदा माथिबाट पहिरो खस्ने होकी भन्ने चिन्ताले आफूलाई सताएको थियो सडक सञ्चालनमा आएपछि निर्धक्क भएर यात्रा गर्न पाउँदा आफूहरू खुसी भएको बताए । खच्चा सडकखण्ड क्षेत्रमा हरेक वर्ष वर्षायाममा पहिरो जाने र हिउँदयाममा सुक्खा पहिरो गइरहने गरेको छ । वर्षाको समयबाहेक पनि सुक्खा पहिरोले सडक अवरुद्ध हुने गरेको छ । यसले गर्दा सवारीसाधन आउजाउमा समेत समस्या हुने गरेको छ ।
हरेक वर्ष अवरुद्ध हुँदै आएको सडक मर्मतमा बेवास्ता हुँदा हुम्ला, मुगु र बाजुरा गरी तीन जिल्लाका यात्रु मर्कामा पर्ने गरेका छन् । जमुनाह–हिल्सा जोड्ने कर्णाली कोरिडोर अन्तर्गतको खच्चा सडकखण्डको वैकल्पिक सडक नहुँदा सवारीसाधन मात्रै नभएर यात्रुलेसमेत यस खण्डमा समस्या झल्दै आउनु परेको यात्रुको भनाइ छ ।