होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही साउन तेस्रो साता मध्य एसियाली मुलुक तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकाशसील राष्ट्रहरूको (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको पर्यटकीय सहर अभाजामा हुने तेस्रो सम्मेलनका लागि जान लागेका हुन् ।
प्रत्येक १० वर्षमा हुने यो सम्मेलन यसअघि ३–५ नोभेम्बर २०१४ (१७–१९ कात्तिक २०७१)मा अस्ट्रियायाको भियनामा भएको थियो । पहिलो सम्मेलन भने अर्का मध्य एसियाली मुलुक कजाखस्तानको राजधानी अल्माटीमा सन् २००३ मा आयोजना गरिएको थियो । ‘एलएलडीसी’मा रहेका विश्वका ३२ वटा भूपरिवेष्ठित–विकाशील मुलुक आबद्ध छन् । यसमा एसियाबाट १२, अफ्रिकाबाट १५, युरोप र दक्षिण अमेरिकाबाट २–२ देशमा छन् ।
एसियाली मुलुकमा नेपालसहित अफगानिस्तान, आर्मेनिया, अजरबैजान, भुटान, कजाखस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् । सबैभन्दा धेरै अफ्रिकी मुलुक बोत्स्वाना, इश्वातिनी, इथियोपिया, लेसोथो, मलावी, माली, नाइजर, रुवाण्डा, दक्षिण सुडान, युगाण्डा, जाम्बिया, जिम्बावे, सेन्ट्रल अफ्रिकल रिपब्लिक, चाड र बुर्किनाफासो छन् ।
युरोप र दक्षिण अमेरिकाबाट दुई/दुई देश तथा युरोपका नर्थ म्यासेडोनिया र रिपब्लिक अफ मोल्दोभा (युरोप), दक्षिण अमेरिकाका बोलिभिया र पाराग्वे छन् । संयुक्त राष्ट्रसंघले ‘एलएलडीसी’ सम्मेलनजस्तै ‘विकासका लागि वित्त’ सम्मेलन पनि प्रत्येक १० वर्षमा आयोजना गर्छ ।