ट्रेण्डिङ

होमपेज / समाज

मध्यपश्चिम विश्वविद्यालयको १७औँ सभा बैठक सम्पन्न

एक अर्ब ३६ कराेड ७७ लाख २१ हजार बजेट स्वीकृत

नेपालगाथा २०८२ असार ३१ गते मंगलबार १५:५०:४३ मा प्रकाशित

काठमाडाैं । मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न भएकाे छ । बैठक सम्माननीय प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार, काठमाण्डौंमा सम्पन्न भएको हाे। प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति रघुजी पन्त, राष्ट्रिय योजना आयोगका सदस्य गिता कुमारी पौड्याल अधिकारीलगायकाे उपस्थित रहेकाे थियो ।

बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्याल, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौड्याल, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलगायत विश्वविद्यालयका सभासदहरू तथा आमन्त्रित विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।

विश्वविद्यालयको १७ औँ सभामा स्वागत मन्तव्य र विश्वविद्यालयको नीति तथा कार्यक्रम उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले सभाको संचालन गर्नु भएको थियो । बैठकमा विशेष गरी तिन वटा प्रस्तावहरु पेश गरिएका थिए । जसमा आर्थिक वर्ष २०८१/०८२ को आम्दानी तथा खर्च अनुमोदन प्रस्ताव, आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव र मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद् सदस्य मनोनयन सम्बन्धी प्रस्ताव पेश गरिएको थियो । ती सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित भएका थिए ।

आर्थिक वर्ष २०८१/०८२ को आम्दानी तथा खर्च अनुमोदन प्रस्ताव अन्तर्गत विश्वविद्यालयको वास्तविक आय ८० कराेड ११ लाख ९८ हजार ८ सय २८ रुपैयाँ रहेको थियो भने जम्मा खर्च ७८ कराेड १४ लाख ५० हजार रुपैयाँ रहेको जानकारी गराइएकाे थियो। आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम अन्तर्गत पुँजीगत तथा संचालन तर्फ गरी एक अर्ब ३६ कराेड ७७ लाख २१ हजार रुपैयाँ अनुमान गरिएको छ ।

त्यसै गरी कार्यकारी परिषद् सदस्य मनोनयन सम्बन्धी प्रस्तावमा ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका उप-प्राध्यापक नारायण नाथ योगीलाई मनोनयन गरिएको थियो। विश्वविद्यालयको १७ औं सभाको बैठकमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति रघुजी पन्तले आफ्नो मन्तव्य सहित सभा समापन गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top