होमपेज / समाज
सुर्खेत । साइनिङ अस्पताल, आइ एन एफ, नेपाल सुर्खेतको प्राविधिक सहयोग तथा प्रदेश अस्पताल सुर्खेतको समन्वयमा मानव सेवा आश्रम सुर्खेतमा आश्रित ३७ जना व्यक्तिहरूको छाला रोग सम्बन्धी स्वास्थ्य परीक्षण सम्पन्न भएकाे छ । जसमध्ये एक जनालाई सहयोग सामग्री प्रदान गरिएको छ।
उक्त स्वास्थ्य परीक्षण कार्यक्रमको संयोजन प्रदेश अस्पताल सुर्खेतकी प्रमुख प्रशासकीय अधिकृत तथा मानव सेवा आश्रमको अभिभावक अनिता ज्ञवलीले गर्नुभएको थियो । कार्यक्रममा साइनिङ अस्पताल, आइ एन एफ नेपाल सुर्खेत पहुँच तथा समावेशीकरण परियोजनाका परियोजना अधिकृत लोकप्रसाद गौतम, लेप्रोसी कन्सल्टेन्ट उदयनाथ योगी, अकुपेशनल थेरापिस्ट क्रिस्टी घर्तीको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिता ज्ञवलीले आइ एन एफ नेपाल, सुर्खेतले अपाङ्गता तथा मानव सेवाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै व्यक्ति समुदाय तथा संघसंस्थाहरू मिलेर सेवा भाव सहितको सहकार्यले सडक आश्रित मानवयुक्त प्रदेशको अभियानमा सहयोग पुग्ने धारणा राख्नुभयो।
आइ एन एफ नेपाल सुर्खेतका परियोजना अधिकृत लोकप्रसाद गौतमले आइ एन एफले २०३४ सालदेखि सुर्खेतमा आफ्ना सेवाहरू प्रदान गरेको कुरा व्यक्त गर्दै प्रेम, सेवा, उत्कृष्टता र निष्पक्षता संस्थाको मूल्य मान्यता रहेको जसले गरिब, विपन्न र पछाडि परेका व्यक्तिको हितको लागि कार्य गर्ने गरेको चर्चा गर्नुभयो।

सेवा भावले काम गर्ने एक संस्थाले अर्को सेवाभावले काम गर्ने संस्थासँग स्वास्थ्य परीक्षण, अपाङ्गता पुनर्स्थापना तथा सहायक सामग्री प्रदान गर्ने कार्यमा सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा आश्रम परिवार र आश्रमको अभिभावक अनिता ज्ञवालीलाई कृतज्ञता व्यक्त गर्नुभयो।
अपाङ्गताका क्षेत्रमा काम गर्ने, अपाङ्गता सञ्जाल अपाङ्गताका विभिन्न विषयका क्षेत्रमा काम गर्ने संघ, संस्था र सरोकारवाला निकायले एकीकृत कार्य गरी सहयोगापेक्षी (बेसाहारा, असाय, अनाथ अभिभावकविहीन मानसिक तथा शारीरिक रुपमा कमजोर) सडक आश्रित मानवमुक्त कर्णाली निर्माणमा सहयोग गर्न सकिने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा मानव सेवा आश्रम सुर्खेतका संयोजक सुजन गौतम, स्वास्थ्यकर्मी कृष्ण रोकाय लगायत आश्रमका कर्मचारी, सहयोगी तथा आश्रममा आश्रित ८९ जना व्यक्तिहरूको सहभागिता रहेको थियो।
