होमपेज / समाज
काठमाण्डौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मा केही सुधार देखिएको छ। गत वर्षको चैत्र ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थीले ग्रेड पाएका छन्। नियमिततर्फ ४ लाख ३८ हजार ८९६ जना परीक्षार्थी सहभागी भएका थिए।
जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएकामा २ लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका हुन्। गत वर्ष ४७ दशमलव ८७ प्रतिशत मात्र उत्तीर्ण भएका थिए। २०८१ सालको एसईईको तुलनामा यस वर्ष १३.९५ प्रतिशत बढी उत्तीर्ण भएका छन्।
गत वर्ष २ लाख २२ हजार ७७२ जनाले ननग्रेड (एनजी) पाएका थिए। यस वर्ष १ लाख ६७ हजार ५९७ जनाले ननग्रेड पाएका छन्। नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १० को नतिजा सुधारोन्मुख देखिएको बताए। ननग्रेड ल्याएका विद्यार्थीले आगामी साउन २९ गते पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ।
सबैभन्दा बढी गणितमा ननग्रेड
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी विद्यार्थी गणित विषयमा कमजोर देखिएका छन्। गणितमा १ लाख २८ हजार २१५ जनाले ननग्रेड पाएका छन्। ‘हाम्रा विद्यार्थी गणित विषयमा कमजोर रहेको देखिएको छ। अंग्रेजी, नेपाली, विज्ञान र सामाजिक विषयमा पनि विद्यार्थी कमजोर रहेको पाइएको छ,’ शर्माले भने।
गणितपछि अंग्रेजीमा धेरैले ननग्रेड पाएका छन्। अंग्रेजीमा ८० हजार ६७२, विज्ञान विषयमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५ र सामाजिकमा ४२ हजार १५० सामाजिकमा ननग्रेड पाएका छन्।
जीपीए कति ?
४८ हजार १७७ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ८१ हजार ३८५ जना छन्। २.८० देखि ३.२० जीपीए ल्याउने सबैभन्दा धेरै ८९ हजार १२४ जना छन्। २.४० देखि २.८० ल्याउने ४८ हजार ४७९ जना छन्। २.०० जीपीएदेखि २.४० जीपीए ४ हजार १२६ जनाले ल्याएका छन्। १.६० देखि २ जीपीए ल्याउने ८ जना छन्। परीक्षा दिएकामध्ये १२६ जनाको परीक्षा रद्द भएको छ।
नतिजामा चित्त नबुझे असार २३ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बोर्डले जनाएको छ। ननग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। गत वर्ष तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा ननग्रेड सबै विद्यार्थीले पूरक परीक्षामा सहभागी हुन पाउने गरी निर्देशिका संशोधन गरेकी थिइन्।
ग्रेड ल्याउनेमा कर्णालीका सबैभन्दा कम
कक्षा १० मा उत्तीर्ण हुने सबैभन्दा बढी बागमती प्रदेशमा छन्। बागमतीमा १ लाख १९ हजार ५१७ जनाले ग्रेड पाएका छन्। बागमतीपछि ग्रेड ल्याउनेमा लुम्बिनी प्रदेश अगाडि छ। लुम्बिनी प्रदेशमा ९७ हजार ६८७ जना उत्तीर्ण भएका छन्।
मधेस प्रदेशमा ५९ हजार ७४९ जनाले ग्रेड पाएका छन्। सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना उत्तीर्ण भएका छन्। गण्डकी प्रदेशमा ४७ हजार ८४९ जना उत्तीर्ण भएका छन्। कर्णाली प्रदेशका ४६ हजार ४५५ जनाले ग्रेड ल्याएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशका उत्तीर्ण भएका छन्।
ननग्रेड ल्याउनेमा मधेस प्रदेश अगाडि
कक्षा १० को अन्तिम परीक्षाको नतिजा अनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै विद्यार्थीले ननगे्रड ल्याएका छन्। मधेसमा नियमिततर्फ परीक्षामा सहभागी ५९ हजार सात सय ४९ विद्यार्थीमध्ये ४२ हजार सात सय ७९ जना ननग्रेड भएका छन्।
सबैभन्दा कम ननग्रेड बागमती प्रदेशका विद्यार्थीले ल्याएका छन्। बागमतीमा २० हजार नौ सय ४७ विद्यार्थी ननग्रेड ल्याएका छन्। १ लाख १९ हजार ५१७ विद्यार्थीले परीक्षा दिएका थिए। गण्डकी प्रदेशमा ४७ हजार ८४९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ११ हजार ३२८ विद्यार्थीले ननग्रेड ल्याएका छन्।
कोसीमा ४७ हजार ८३५ विद्यार्थीमध्ये २३ हजार छ ६३१ नन ग्रेड भएका छन् भने लुम्बिनीमा ५७ हजार छ ८७ मध्ये २८ हजार दुई सय ७४, कर्णालीमा ४६ हजार चार सय ५५ मध्ये १३ हजार सात सय ६५ र सुदूरपश्चिममा ५९ हजार आठ सय चारमध्ये २६ हजार ८७४ जना विद्यार्थीले ननग्रेड ल्याएका छन्।