होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको परिच्छेद ३ खण्ड ७ को १४ (१) दफा १३ वमोजिम वि.स. २०८२ असार १ गते कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री मा. राजिवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ।
१. बजेटका उद्देश्य र प्राथमिकता
• उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी गरिबी न्यूनीकरण गर्ने।
• दिगो र प्रतिफलमुखी भौतिक पूर्वाधार निर्माण गरी सन्तुलित विकास गर्ने।
• मानव पुँजी निर्माण, नवप्रवर्तन, उद्यमशीलता विकास, लगानी प्रोत्साहन गरी रोजगारीका अवसर सृजना गर्ने।
• गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गरी जनमुखी सेवा र शासकीय सुधार गर्ने।
२. आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति, कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्न रु. ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार विनियोजन भएको छ। जो चालू आर्थिक वर्षको बजेट विनियोजनको तुलनामा ५ प्रतिशतले वृद्धि हो। कुल विनियोजनमध्ये चालुतर्फ रू. ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३.६४ प्रतिशत, पुँजीगततर्फ रू. १९ आर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत, वित्तीय व्यवस्थातर्फ रू. ६१ करोड ५० लाख अर्थात् १.६८ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रू. ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजात अर्थात् १३.९५ प्रतिशत विनियोजन भएको छ।
३. विषयगत मन्त्रालय
• भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि रू. २ अर्ब ५७ करोड ११ लाख।
• उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयतर्फ रू. २ अर्ब ४२ करोड ७९ लाख।
• भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयतर्फ रू. ११ अर्ब १ करोड।
• जलस्रोत तथा उर्जा विकास मन्त्रालयतर्फ रू. ३ अर्ब ८३ करोड।
• सामजिक विकास मन्त्रालयतर्फ रू. ५ अर्ब ७७ करोड।
• आन्तरिक मामिला तथा कानुन मन्त्रालयतर्फ रू. ३० करोड।
४. अन्तर सरकारी वित्त हस्तान्तरण रू. ४ अर्ब ५९ करोड मध्ये,
• वित्तीय समानीकरण अनुदान यसअघि भन्दा बढाएर रू. ९५ करोड।
• स्थानीय तहलाई प्रदेश सरकारले बेहोर्ने समपुरक अनुदानको अंश वृद्धि गरि रू. ७६ करोड ४६ लाख।
• विशेष अनुदानको रकम वृद्धि गरि रू. ३६ करोड ८० लाख।
• ससर्त अनुदानको अंश १८ प्रतिशतले घटाएर रू. २ अर्ब ५१ करोड।
• "मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रम" रू. १ अर्ब १४ करोड ९० लाख स्थानीय तहमा वित्तीय हस्तान्तरण।
५. आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत
• आन्तरिक आयबाट रू. ९६ करोड ७४ लाख ११ हजार।
• चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम रू. ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार।
• सङ्घीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त हुने रकम रू. १० अर्ब २७ करोड ३० लाख।
• सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रकम रू. १० अर्ब ५६ करोड ४ लाख।
• सङ्घीय सरकारबाट ससर्त अनुदानबाट रू. ४ अर्ब ४४ करोड ६० लाख।
• सङ्घीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ रू. ५३ करोड ९७ लाख र विशेष अनुदान तर्फ रू. ४९ करोड ४६ लाख।
• सङ्घीय सरकारबाट ससर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायता बाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि रू. १ करोड ८७ लाख।