ट्रेण्डिङ

होमपेज / समाज

साइनिङ अस्पताल आइ एन एफ सुर्खेतको सामाजिक परीक्षण सम्पन्न

नेपालगाथा २०८२ जेठ २ गते शुक्रबार २२:५५:४५ मा प्रकाशित

सुर्खेत । साइनिङ अस्पताल आइ एन एफ सुर्खेतको सामाजिक परीक्षण शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साइनिङ अस्पताल आइ एन एफ सुर्खेतले सञ्चालन आव २०८०।८१ को अवधिभर सञ्चालन गरेका कार्यक्रमहरु र २०८१।८२ को नौं महिनासम्म सम्पन्न भएका विभिन्न गतिविधिका बारेमा सामाजिक परीक्षण गरिएको हो । 

कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मन्त्रालयको स्वास्थ्य समस्याहरु र आइ एन एफका समस्याहरु एउटै भएकाले मन्त्रालय र साइनिङ अस्पताल आई एन एफ सुर्खेत सँगै मिलेर अघि बढेको बताए ।

यसैगरी जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले साइनिङ अस्पताल आई एन एफ सुर्खेतले प्रदेशमा नै नमूना कार्य गरेको जानकारी दिए  । प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले सामाजिक परीक्षणमा प्रस्तुत गरिएको आर्थिक पक्षमा थप विस्तृत विवरण थप्नुपर्ने जानकारी दिए । 

देशका विभिन्न ११ वटा जिल्लामा आई एन एफ नेपालले विभिन्न गतिविधिहरु गर्दै आएको छ । साइनिङ अस्पताल आइ एन एफ सुर्खेत कार्यालयमा कुष्ठरोग क्लिनिकसँगै सन् १९७७ बाट शुरु भएको हो । साइनिङ अस्पताल आई एन एफ सुर्खेतले कुष्ठरोग र अशक्तता भएका व्यक्तिहरूका लागि कुष्ठरोगको उन्मूलन र पुनर्स्थापनाका सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

साइनिङ अस्पतालले कुष्ठरोग निदान सेवाहरू प्रदान गर्दै कुष्ठरोगको जटिलता भएका व्यक्तिहरू र विशेष गरी शारीरिक अपाङ्गता, स्ट्रोक, मेरुदण्डमा चोटपटक भएका मानिसहरूका लागि रेफरल संयन्त्रको रूपमा कार्य गरिरहेको छ । साइनिङ अस्पताल आई एन एफ सुर्खेतका प्रमुख ललितबहादुर सारुले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतले सामाजिक जिम्मेवारी पूरा गर्न विभिन्न प्रयासहरु र कार्य सम्पादनको लेखाजोखाका बारेमा जानकारी दिनुभयो ।

आव २०८०/८१ मा कुष्ठरोगीहरु मध्ये १८ हजार ५७ जना व्यक्ति लाभान्वित भएका छन् भने आव २०८१/८२ को नौं महिनामा १४ हजार ४८ जना व्यक्ति लाभान्वित भएको सामाजिक परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यसैगरी अपांगता सम्वन्धीको कार्यक्रमबाट आव २०८०/८१ मा ९ हजार ८ सय २८ जना लाभान्वित भएका थिए भने आव २०८१/८२ को नौं महिनामा ९ हजार २ सय ७० जना व्यक्ति लाभान्वित भएका छन् । फिस्स्टुला सम्वन्धीको कार्यक्रमबाट आव २०८०/८१ मा १० हजार ४४ जना व्यक्ति लााभान्वित भएका थिए भने आव २०८१/८२ को नौं महिनामा ६ हजार ५९ जना व्यक्ति लाभान्वित भएका छन् ।

साइनिङ अस्पताल आई एन एफ सुर्खेतको आर्थिक पक्षलाई हेर्दा पछिल्ला गतिविधिहरुका कारण प्रस्तावित बजेटको तुलनामा वास्तविक बजेटमा वृद्धि भएको देख्न सकिन्छ । यसले गर्दा पनि साइनिङ अस्पताल आई एन एफ सुर्खेतका गतिविधिहरु पछिल्ला दिनमा वृद्धि भइरहेको बुझ्न सकिन्छ । 

सामाजिक परीक्षण कार्यक्रममा विभिन्न सरोकारवाला करिब ६० जनाको सहभागिता रहेको थियो । सामाजिक परीक्षणलाई मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बिसीले सहजीकरण गरेका थिए । 

सोही अवसरमा साइनिङ अस्पताल आई एन एफ सुर्खेतमा डिजिटल माध्यमबाट कृत्रिम खुट्टा बनाउने मेशिनको उद्घाटन गरिएको थियो । यो मेशिनले दुर्गम स्थानमा रहेका अपांगता बालबालिकाहरुको कृत्रिम हात तथा खुट्टा बनाउनमा समेत सहयोग पुग्ने बताइएको छ । 

साथै अस्पताललाई आवश्यक पर्ने करिब पाँच लाख मूल्य बराबरको मेशिन गुर्भाकोट नगरपालिकाले साइनिङ अस्पताल आई एन एफ सुर्खेतलाई हस्तान्तरण गरेको छ । यस अघि नै पञ्चपुरी नगरपालिकाले पनि एउटा मेशिन साइनिङ अस्पताल आई एन एफ सुर्खेतलाई हस्तान्तरण गरिसकेको थियो । 

उक्त मेशिनहरुको सहयोगमा अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक पर्ने कृत्रिम हात, खुट्टा बनाउनका लागि सहज हुने अस्पतालले बताएको छ । 

साइनिङ अस्पताल आई एन एफ सुर्खेतको जिल्लास्तरीय सल्लाहकार समिति समिक्षा बैठक पनि सम्पन्न भएको छ । उक्त बैठकले अस्पतालले सञ्चालन गरेका गतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सक्रिय भएर लाग्ने निर्णय गरेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top