ट्रेण्डिङ

होमपेज / समाज

लड्केश्वर धाममा राष्ट्रव्यापी आस्थाको जागरण

नेपालगाथा २०८२ बैशाख ३१ गते बुधबार १८:०७:१५ मा प्रकाशित

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–११ मा अवस्थित लड्केश्वर धाम कालाग्निरुद्र पीठका रूपमा परिचित हुन थालेका छन् । सूर्य पुराणको ५७ औँ अध्याय र १७औँ श्लोकमा वर्णन गरिएको यो पवित्र स्थल हाल धार्मिक चेतनाको नवजागरणको उत्कृष्ट स्थल बन्दै गएकाे छ । 

धाम परिसरमा हालै निर्माण गरिएको १०८ फिट अग्लो शिव त्रिशूल र १०८ वटा शिवधारा यस क्षेत्रका प्रमुख आकर्षण बनेका छन् । झन्डै दुई दशकसम्म अलपत्र अवस्थामा रहेको त्रिशूलको पुनर्निर्माणपछि २०८० सालमा नेपालमै पहिलो पटक जनस्तरबाट राष्ट्रिय कोटिहोम आयोजना गरिएको थियो, जसमा ७७ वटै जिल्लाबाट श्रद्धालुहरूको सहभागिता रहेको थियो ।

शास्त्रीय मान्यतामा आधारित रहन सफल यो धार्मिक अनुष्ठानका संकल्पकर्ता हुन् – पत्रकारिता पृष्ठभूमिबाट आएका श्री मुकुन्द शर्मा हुमागाईं । उनको नेतृत्वमा ७७ वटै जिल्लामा रथयात्रा गर्दै कोटिहोमको तयारी गरिएको थियो । कोटिहोम सम्पन्न भएपछि प्रा. डा. माधव भट्टराईको नेतृत्वमा रहेको राष्ट्रिय धर्म सभा नेपालले हुमागाईंलाई “विश्वकै एकमात्र कालाग्निरुद्र पीठ लड्केश्वर धाम” का पीठाधीशको रूपमा सम्मानित गरेको थियो ।

धार्मिक मान्यताअनुसार, कालाग्निरुद्रको प्रतिरूप मानिने लड्केश्वर महादेव सम्पूर्ण सृष्टिमा अद्वितीय छन् । सूर्य पुराणमा आधारित यो धारणा पीठाचार्य अरुणकुमार पाण्डेले पुष्टि गर्दै लड्केश्वर धामको आध्यात्मिक गरिमालाई बल दिएको बताउनुहुन्छ ।

२०८० सालको कोटिहोमपछि देशभर लक्षहवन सहित कोटिहोमको प्रसाद वितरण जारी छ । आगामी २०८३ माघ शुक्लपक्षमा दोस्रो राष्ट्रिय कोटिहोम आयोजना गर्ने तयारी तीव्र गतिमा अघि बढिरहेको छ । हालसम्म ६ वटा लक्षहवन सम्पन्न भइसकेका छन् ।

लड्केश्वर धाममा हरेक वर्ष हरिबोधिनी एकादशीका दिन भव्य मेला लाग्ने परम्परा छ । यस्तै, उत्तरायणको गंगा दशहरा र दक्षिणायनको धान्यपूर्णिमामा साधनामूलक विशेष मेला गरिने भएकाले यो धाम धार्मिक पर्यटनको एक महत्वपूर्ण केन्द्र बन्दै गएको छ ।

यो वर्षको गंगा दशहरा मेला २०८२ जेष्ठ १४ गते देखि सुरु हुँदैछ । कालाग्निरुद्र पीठको औपचारिक प्रस्तावना भएको एक वर्ष पुगेको सन्दर्भमा पनि यो मेला विशेष हुने अनुमान गरिएको छ । पीठाधीश श्री शर्माले देशभरका विद्वान, धर्मप्रेमी एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक सल्लाह, सुझाव र सहभागिता जनाउन सबैलाई निमन्त्रणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top