होमपेज / समाज
सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउन मन्त्रालयकाे सहयाेग रहने बताएका छन् । सोमबार नेपाल टेलिभिजनको प्रदेश ब्युरो कार्यालय र खस भाषाको समाचार बुलेटिन उद्घाटन गर्दै मन्त्री गुरुङले कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवर्द्धनमा नयाँ सेवा सुरुवातले महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै यसका लागि कर्णाली प्रदेशले बनाउन लागेकाे डिजिटल कर्णालीका लागि मन्त्रालयकाे आवश्यक सहयाेग रहने बताए ।
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै संरचनामार्फत एकीकृत प्रशारण सेवा उपलब्ध गराउने सरकारी नीति अनुरूप कर्णालीमा यो सेवा सुरु गरिएको मन्त्री गुरुङले बताए । उनले भने, ’विविध भाषा र संस्कृतिको प्रसारणले राष्ट्रिय एकता र सहिष्णुता मजबुत हुने विश्वास व्यक्त गर्दै उनले आगामी बजेटमा कर्णाली प्रदेशलाई समपूरक र विशेष अनुदान वृद्धि गरिने जानकारी दिए।
यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खस भाषामा समाचार प्रसारणका लागि प्रदेश सरकारले छ महिनाअघि नै नीतिगत निर्णय गरी संघीय सरकारलाई प्रस्ताव पठाएको स्मरण गरे। मुख्यमन्त्री कँडेलले भाषिक विविधता उजागर गर्न सुरु गरिएको सेवा प्रतिको पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे।
सेवा प्रदायकसँगै व्यावसायिक मोडेलमा जनताका आवाज मुखरित गर्ने दिशामा अघि बढ्न सके मात्र सार्वजनिक प्रसारणमाथि जनताको विश्वास बढ्छ मुख्यमन्त्री कँडेलले बताए।
उनले कर्णालीको दूरसञ्चार सेवा अझ गुणस्तरीय बनाउन नेपाल टेलिकमको ध्यानाकर्षणसमेत गराए।