होमपेज / समाज
काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रेस चाैतारी नेपालका सबै सदस्यहरु विचारमा प्रखर र व्यवसायमा क्षमतावान हुनुपर्ने बताएका छन् । दोलखाको जिरीमा सञ्चालन भएकाे प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रेस चौतारी नेपालका सदस्यहरुलाई विचारमा र पेशामा क्षमतावान बनाउन यो वर्षलाई प्रशिक्षणको वर्षका रूपमा अघि बढाउँदै देशभर तालिम सञ्चालन गरिने बताए ।
प्रेस चौतारीमा आबद्ध पत्रकारहरूलाई संगठन, पार्टी र अहिलेको अवस्थाको बारेमा विशेष प्रशिक्षण आवश्यक रहेको पाण्डेको भनाइ छ । प्रशिक्षित कार्यकर्ता मात्र प्रतिबद्ध भएर लाग्ने उनले बताए । प्रेस चौतारी नेपालले विश्वका २५ भन्दा बढी देशका कम्युनिष्ट पार्टीका पत्रकारहरूसँग सम्बन्ध विस्तार गर्न यो वर्ष अन्तर्राष्ट्रिय मिडिया फेस्टिभल गर्ने योजना बनाएको अध्यक्ष पाण्डेले बताए ।
चौतारीले पार्टीले सञ्चालन गर्ने गतिविधिको समाचार लेख्न प्रत्येक जिल्लामा एक जना र सामाजिक सञ्जालबाट पार्टीमाथि भइरहेको घेराबन्दी चिर्न हरेक जिल्लामा तीन जना प्रेस चौतारीकर्मी परिचालन गर्ने अध्यक्ष पाण्डेले बताए । कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले प्रेस चौतारी नेपाल लामो सङ्घर्ष र धेरै दुःख पार गरेर आएको संगठन भएको बताए । त्यसैको प्रतिफल अहिले संगठन सफलताको सिँढीमा उक्लिएको उनले सुनाए ।
‘इतिहासमा प्रेस चौतारी नेपालले धेरै पटक हारिसकेको छ, अहिले जितको सुनौलो समय सुरु भएकाले सबै एकताबद्ध भएर लागौँ’, महासचिव लामाले भने । संगठनमा नेतृत्व, नियन्त्रण र सञ्चार महत्त्वपूर्ण हुने भएकाले यो विषयलाई बुझेर काम गर्न उनले आग्रह गरे । संगठनलाई बलियो बनाउन शुद्धीकरण र सुदृढीकरण अत्यावश्यक भएको उनको भनाइ छ ।
पछिल्लो समय सञ्चार गृह र पत्रकारमाथि घोषित रूपमै आक्रमणका घटनाहरू भइरहेकोले सचेततापूर्वक काम गर्नुपर्नेमा उनले जोड दिए । मिडिया कसैको नियन्त्रणमा हुन नहुने उनको स्पष्ट धारणा छ ।