ट्रेण्डिङ

होमपेज / समाज

बालबालिकाको क्षेत्रमा एक वर्षमा ५६ करोड खर्च 

नेपालगाथा २०८२ बैशाख १६ गते मंगलबार २२:२०:०१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बालबालिकाको क्षेत्रमा एक वर्षको अवधिमा ५६ करोड रकम खर्च भएको छ । सेभ द चिल्ड्रेनले बालबालिकाको क्षेत्रमा उक्त रकम खर्च गरेको विवरण सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको रूपमा परिचित सेभ द चिल्ड्रेनले कर्णाली प्रदेशका विभिन्न १४ वटा स्थानीय गैर सरकारी संस्थाहरूसँग साझेदारी गरेर बालबालिकाको अधिकार संरक्षण, सकारात्मक परिवर्तन, शिक्षा स्वास्थ्यको अधिकार, विकाससँगै उद्यमीका क्षेत्रमा यो रकम खर्च गरेको जानकारी दिएको हो । कर्णाली प्रदेशमा पहिलो पटक सामाजिक परीक्षण मार्फत रकम खर्च भएको जानकारी दिइएको हो ।

खर्चमध्येको धेरै रकम वास्तविक कार्यक्रममा खर्च गरिएको संस्थाको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जसमध्ये प्रशासनिक खर्चतर्फ ३ करोड ३० लाख ४४ हजार  देखिन्छ । साझेदार संस्था मार्फत ४१ करोड ८९ लाख र संस्थागत क्रियाकलापमा ११ करोड २८ लाख ९४ हजार खर्च गरिएको तत्थ्याँकमा उल्लेख छ । 

सेभ द चिल्ड्रेनले कामको सुरुवात गरेको ४९ वर्ष पुगेको छ । ४९ वर्ष पहिले पनि पहिलो पटक सुर्खेतमा कार्यक्रम सञ्चालन गरेको र सन् २०३० सम्म कर्णालीका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, अधिकार रक्षा लगायतका क्षेत्रमा निरन्तर काम गर्ने आयोजनाले जानकारी दिएको छ । 

सामाजिक परीक्षणमा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जहाँ जहाँ काम गरिएको छ उक्त स्थानमा कामको मूल्याङ्कन राम्रो भएको देखिए पनि समग्रतामा कर्णालीको शैक्षिकस्तर सुधारमा अझैँ चुनौती रहेको बताए । अझैँ पनि गाउँका सदरमुकामका विद्यालयमा विद्यार्थीहरू पढ्ने मन नगर्ने र सुविधासम्मन्न स्थानमा आउने प्रचलन रोकिएको छैन ।

कार्यक्रम सञ्चालन हुने दिनसम्म प्रभावकारी देखिने र सकिएपछि प्रभाव न्यून हुने प्रचलन बढेको भन्दै सरकार र गैर सरकारी संस्थाहरूले गरेका कार्यक्रमहरूलाई दिगोपना दिने विषयमा सबैले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । कर्णालीको शैक्षिक क्षेत्रमा उत्पादनमूलक अभियानको सुरुवात गर्दै समग्रतामा अधिकारको सवालमा गैर सरकारी संस्थाहरूले गरेका अभियानहरूले सकारात्मक सन्देश दिएको बताएका छन् । 

नेपाल भुटानकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले पारदर्शिता र जबाफदेहिताको व्यवहारिक प्रयोग गर्नुपर्ने मान्यताअनुसार पहिलो पटक प्रदेशस्तरमा सामाजिक परीक्षण सुरु गरिएको बताएकी छन् । तीनै तहका सरकारको सहकार्य, स्थानीय जनप्रतिनिधिहरूको सक्रियताले कार्यक्रमहरूको प्रभावकारिता बढेको बताउँदै दिगोपनासँगै क्षेत्र विस्तारका कामहरूको लागि सबैले एक्यवद्धता गर्नुपर्ने सुझाव दिएकी छन् । 

सन २०२४ मा करिब ३ लाख बढी बालबालिकाहरू कार्यक्रमबाट प्रत्यक्ष प्रभावित भएको सामाजिक परीक्षणमा जानकारी गराइएको छ । ए.पी.कन्सन्ट काठमाडौँले सामाजिक परीक्षणको जिम्मेवारी लिएको थियो । सहजीकरण दुर्लभ बोगटीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top