होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयद्वारा वैशाख १२ र १३ गतेसम्म आयोजित प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले गमलामा रोपिएको बोटमा पानी हालेर उद्घाटन गर्दै सम्मेलनको पूर्ण सफलताको कामना गर्दै आजको युग ज्ञानको युग भएकाले यस सम्मेलनले विभिन्न खोज अनुसन्धान प्रस्तुतीकरण, बहस, छलफल र विचार आदान-प्रदानले नीति तथा योजना निर्माण र कार्यान्वयनमा दिशानिर्देश हुने विश्वास व्यक्त गर्नुभएको थियो । 
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले विश्वविद्यालय शैक्षिक एवं अनुसन्धानको थलो भएको उल्लेख गर्दै यस सम्मेलनले प्राज्ञिक व्यक्तिहरुको शैक्षिक वृतिविकास र विभिन्न शैक्षिक संस्थाहरुबीच सहकार्यको नयाँ ढोका खोल्ने अवसर प्रदान गर्ने बताउनुभएको थियो । सम्मेलनमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कंडेलज्यूले मन्तव्य सहित स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री राजीब विक्रम शाह, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिनोद प्रसाद ढकाल, सुदुरपश्चिमान्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेम राज पन्त र स्ववियु सभापति विवेक खड्काले मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलन आयोजक समितिका संयोजक सह-प्रा. डा. पूर्णमान श्रेष्ठज्यूले सम्मेलनको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने उद्घाटन सत्रको संचालन उप-प्राध्यापक यदु प्रसाद ज्ञवालीले गर्नुभएको थियो ।
उद्घाटन समारोह लगत्तै प्रमुख वक्ताहरुले आफ्नो प्रस्तुतीकरण पेश गर्नुभएको थियो । नेली स्कूल अफ बिजनेस, क्रिस्चियन युनिभर्सिटी, टेक्सास, युएसएका प्रा. डा. ग्यारी डी. ब्रुटन र चण्डीगढ़ विश्वविद्यालय, भारतका प्रा. डा. मेघना मेहेंद्रो (यूआइटिटिआर प्रिन्सिपल) ले पहिलो दिनको किनोट सेसनमा प्रस्तुतीकरण गर्नुभएको थियो । किनोट सेसनको सहजीकरण सम्मेलन आयोजक समितिका सदस्य उप-प्राध्यापक रेशम बिष्टले गर्नुभएको थियो ।
उक्त प्रस्तुतीकरण पश्चात, डीन कार्यालय स्थित मिटिंग हलहरुमा आठ वटा टेक्निकल सेसनहरु संचालन भएका थिए जसमा प्राध्यापक एवं अनुसन्धानकर्ताहरुले आफ्ना अनुसन्धानमुलक प्रस्तुति पेश गर्नुभएको थियो । त्यस्तै सम्मेलनको पहिलो दिन प्लेनरी सेसन र प्यानल छलफलहरु सम्पन्न भएका थिए । प्लेनरी सेसनमा मोतीलाल नेहरू राष्ट्रिय प्राविधिक संस्थान, इलाहाबादका व्यवस्थापन अध्ययन विद्यालय प्रमुख प्रा. डा. तनुज नन्दन, हिमाञ्चल प्रदेश केन्द्रीय विश्वविद्यालयका शिक्षा संकाय डिन प्रा. डा. मनोज सक्सेना, बाबासाहेब भीमराव अम्बेडकर विश्वविद्यालय, लखनउका डिन प्रा. डा. अमित कुमार सिंहले आफ्नो महत्वपूर्ण प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

उक्त सेसनको अध्यक्षता ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डिन प्रा. डा. दीप बहादुर रावलज्यूले गर्नुभएको थियो भने सेसन संचालन रञ्जना कुमारी दनुवारले गर्नुभएको थियो । त्यसै गरी ‘ब्रिजिंग दि ग्याप: इन्डस्ट्री-एकेडेमिया कोल्याब्रेसन फर फ्युचर’ विषयक प्यानल छलफलमा नेपाल टेलिकम, कर्णाली प्रदेश प्रमुख डा. कमल लमिछानेज्यू, कृषि विकास बैंक कर्णाली प्रदेश प्रमुख डा. सुरोज टण्डनज्यू, ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सह-प्रा.डा. सुदीप ठकुरीज्यूले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम संचालन उप-प्राध्यापक ऋषि केशर खनालले गर्नु भएको थियो । पहिलो दिनका सेसन समाप्ति संगै सांस्कृतिक साँझ कार्यक्रम संचालन भएको थियो ।
सम्मेलनको दोस्रो दिनको सुरुवातमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजु थापालियाले भर्चुअल माध्यमबाट र काठमाण्डौ विश्वविद्यालयका प्रा. डा. सुदन झाज्यूले कीनोट प्रस्तुतिकरण पेश गर्नुभएको थियो । उक्त सेसनको अध्यक्षता प्रा. डा. ग्यारी डी. ब्रुटनले गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण मुसोमका डाइरेक्टर डा. सुशील कुमार शाहीज्यूले गर्नुभएको थियो ।

त्यस्तै दोस्रो दिन दुइ वटा प्यानल सेसन संचालन भएका थिए । पहिलो सेसनमा ‘सस्टेनिबिलिटी एण्ड सोसल इम्प्याक्टस: सोसल रेस्पोंसीबिलिटी फर गुड गभर्नेन्स’ विषयमा माननीय सामाजिक विकास मन्त्री घनश्याम भण्डारीज्यू, बालरोग विशेषज्ञ एवं सामाजिक अभियन्ता डा. नवराज केसीज्यू, सह–प्राध्यापक डा. अर्जुनबहादुर अयडीज्यूले बहस गर्नुभएको थियो भने कार्यक्रम संचालन उप-प्राध्यापक खगेन्द्र अधिकारीले गर्नु भएको थियो ।
दोस्रो प्यानल सेसनमा ‘टिचर एज अ लाइफलंग लर्नर: रीइम्याजीनिंग प्रफेसनल डेवलप्मेंट एण्ड पेडागोजिकल ग्रोथ’ विषयमा सुदुरपश्चिम विश्वविद्यालयका सह-प्राध्यापक डा. मोहन सिंह साउदज्यू, सोहि विश्वविद्यालयका उप-प्राध्यापक ज्ञानुराज पौडेलज्यू, र सुर्खेत बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह-प्राध्यापक माधव खनालज्यूले छलफल गर्नुभएको थियो भने सो सत्रको संचालन उप-प्राध्यापक प्रेम कुमारी ढकालले गर्नुभएको थियो ।
.jpg)
किनोट तथा प्यानल छलफल संगै विभिन्न हलहरुमा चार वटा टेक्निकल सेसनहरु संचालन भएका थिए जसमा प्राध्यापक एवं अनुसन्धानकर्ताहरुले आफ्ना अनुसन्धानमुलक प्रस्तुति पेश गर्नुभएको थियो । त्यस्तै भर्चुअल माध्यमबाट नेपाल, भारत, बंगलादेश र पोल्याण्डबाट गरी दश जना प्राध्यापक एवं अनुसन्धानकर्ताहरुले प्रस्तुतीकरण गर्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन उप-प्राध्यापक पन्च देव भट्टले गर्नुभएको थियो । सम्मेलनका लागि जम्मा २५४ शोधपत्र प्राप्त भएकोमा २०१ छानिएका थिए भने सम्मेलनमा १७४ प्राध्यापक एवं अनुसन्धानकर्ताहरुले प्रस्तुतीकरण पेश गर्नुभएको थियो ।
विभिन्न किनोट प्रस्तुति, प्यानल छलफल र टेक्निकल सेसनहरु सम्पन्न भए संगै दुई दिने सम्मेलनको समापन कार्यक्रम संचालन भएको थियो । मध्यपश्चिम विश्वविद्यालयको कन्फ्रेन्स हलमा आयोजित उक्त समापन कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री राजीब विक्रम शाह हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले गर्नुभएको थियो ।

प्रमुख अतिथि माननीय मन्त्री शाहले यस सम्मेलनले विश्वविद्यालयको शैक्षिक क्षेत्रमात्र नभई समग्र देशलाईनै विकास निर्माणका लागि प्रतक्ष्य एवं अप्रतक्ष्य रुपमा सहयोग गरेको बताउनुभएको थियो । त्यस्तै उपकुलपति एवं कार्यक्रमका अध्यक्ष उपकुलपति प्रा. डा. गौतमले उच्च शिक्षा क्षेत्र र विश्वविद्यालय निर्माणको जिम्मेवारी हामी सबैको भएको उल्लेख गर्दै सम्पूर्णले एक मत भई विश्वविद्यालय निर्माणमा लाग्न आग्रह गर्नुभएको थियो । साथै यस प्रकारका सम्मेलन विश्वविद्यालयले निरन्तर अगाडी बढाउने उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कंडेलले आफ्ना महत्वपूर्ण भनाई सहित मन्तव्य प्रस्तुत गर्नु भएको थियो । सम्मेलन आयोजक समितिका संयोजक सह-प्रा. डा. पूर्णमान श्रेष्ठज्यूले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन प्रस्तुत गर्नुभएको थियो । समापन कार्यक्रमको संचालन सम्मेलन आयोजक समितिका सदस्य सह-प्रा. डा. आनन्द प्रसाद सुवेदीले गर्नुभएको थियो ।
दुइदिने उक्त सम्मेलन अनलाइन र अफलाईन दुवै माध्यमबाट संचालन भएको थियो जसमा करीब २५० भन्दा बढी सहभागी भएका थिए भने प्रविधि व्यवस्थापन सम्मेलन आयोजक समितिका प्राविधिक प्रबन्धक उप-प्राध्यापक पन्च देव भट्टले गर्नु भएको थियो।


