होमपेज / समाज
सुर्खेत | बुलबुले तालको गुरुयोजना अनुसार आगामी असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ । डिभिजन जलाधार व्यवस्थापन कार्यालयकाे मातहतमा रहेकाे बुलबुले ताललाई प्रदेश सरकारले विगत पाँच वर्षदेखि निरन्तर बजेट विनियोजन गरेर विस्तार तथा संरक्षण गर्दै आइरहेको छ ।
अहिले बुलबुले तालको ४२ सय वर्गमिटर क्षेत्रफल बढाउने कार्य शुरू भएको कार्यालयका प्रमुख शिखर चपाईले जानकारी दिए ।
उनका अनुसार पुरानो ताल १६ सय वर्गमिटर थियो भने अहिले निर्माण गर्न लागिएको नयाँ तालको क्षेत्रफल दुई हजार दुई सय वर्गमिटरभन्दा बढी पुग्नेछ । प्रविन निर्माण सेवाले एक करोड १२ लाख ३६ हजार ८६३ मा निर्माण गर्नेगरी कार्यालयसँग सम्झौता गरेको छ भने निर्माण कम्पनीले २०८२ असार १० गतेसम्म निर्माण गरिसक्ने छ ।
‘यो तालको क्षेत्रफल बढाउन प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । बुलबुले तालको गुरुयोजना अनुसार यो ताल निर्माण भइरहेको हो,’ प्रमुख चपाईले भने, ‘योजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भइसकेको छ भने १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । २३० मिटर पर्खालमध्ये हालसम्म ९२ मिटर निर्माण पुरा भइसकेको अवस्था छ ।’
उनले मुख्यमन्त्री यामलाल कँडेलले छिटो र गुणस्तरीय निर्माणका लागि बारम्बार ताकेता गरिरहेका बताए । ‘मुख्यमन्त्रीज्यू स्थलगत अनुगमनमा यसपटकगरी दुई पटक निर्माणस्थल पुगिसक्नुभएको छ,’ चपाईले भने, ‘जसरी भए पनि समयावधिभित्रै निर्माण कार्य सक्न मुख्यमन्त्रीज्यूले निर्देशन दिनुभएको छ । सोही निर्देशनअनुसार तीव्र गतिमा काम भइरहेको छ ।’