ट्रेण्डिङ

होमपेज / समाज

प्राडा इन्द्रप्रसाद तिवारी गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त

नेपालको पहिलो प्रदेश विश्वविद्यालयका रूपमा गण्डकी विश्वविद्यालय रहेको छ ।

नेपालगाथा २०८१ चैत्र २९ गते शुक्रबार २३:०८:४५ मा प्रकाशित

काठमाडाैं | गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । कुलपति सिफारिस समितिले गत चैत २१ गते तीन जनाको नाम सिफारिस गरेकोमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई नियुक्त गरेका हुन् । कुलपतिका लागि तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरिएको थियो ।

विश्वविद्यालय न्यायिक परिषद् अध्यक्षसमेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेलसहित सदस्यद्वय प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा. यमुना घले समितिमा रहेका थिए ।

पोखरा महानगरपालिका–३१ का तिवारी पोखरा विश्वविद्यालय स्कूल अफ सोसल साइन्सका पूर्व डिन हुन् । नेपालको पहिलो प्रदेश विश्वविद्यालयका रूपमा गण्डकी विश्वविद्यालय रहेको छ । यसले गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेशसभाबाट २०७६ असोज २७ मा पारित भएसँगै विश्वविद्यालयको मान्यता पाएको थियो ।

विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बीएसएम), सूचना प्रविधिको स्नातक (बीआइटी) ब्याचलर अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलरअफ आट्र्स, ब्याचलर अफ ल (बीएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआईटी एआई) विषयहरूको अध्ययन अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top