होमपेज / समाज
सुर्खेत । अपाङ्गताको क्षेत्रमा सुर्खेतका ६ वटा पालिकाहरू (पञ्चपुरी, बराहताल, वीरेन्द्रनगर,भेरीगंगा,गुर्भाकोट र सिम्ता) का अपाङ्गता भएका व्यक्तिहरूको पालिका स्तरीय संजालद्वारा कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री माननीय यामलाल कंडेल तथा सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीलाई एक अन्तरक्रियात्मक कार्यक्रमका बीच १८ बुँदे ध्यानाकर्षण पत्र प्रदान गरेका छन्।
प्रतिनिधि मण्डलका तर्फबाट अपाङ्ग एकता समाज गुर्भाकोटका अध्यक्ष उत्तम विकले ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै अपाङ्गताका क्षेत्रमा प्रदेश सरकार तथा स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हक हित अधिकार तथा सेवा सुविधाका सन्दर्भमा खेलेको भूमिकाको प्रशंसा गर्दै, संविधान, अपाङ्गता ऐन, नियम, राष्ट्रिय नीति, अपाङ्गता सम्बन्धी महासन्धिमा उल्लेखित अधिकारहरूको सुनिश्चितताको लागि प्रदेश सरकारले अब बन्ने नीति तथा कार्यक्रममा सम्बोधन गर्न तथा बजेट विनियोजन गर्न ध्यानाकर्षण गराउनुभयो।
साथै उहाँले भएका व्यक्तिहरु कोही पनि सहायक सामग्रीबाट विमुख नहुन् भनी कर्णाली प्रदेशमा सहायक सामग्री निर्माण केन्द्र स्थापना गरी सेवा प्रदान गर्न जोड दिन अनुरोध गर्नुभयो।
गाउँघरमा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गर्न अपाङ्गता पहिचान स्वास्थ्य शिविर, थेरापी सेवा प्रदान गर्न घुम्ती शिविरको गर्ने, पुनर्स्थापन सेवाको आवश्यकता परेका व्यक्तिहरुलाई जन स्वास्थ्य ऐन २०७५ अनुसार उपचार, तथा पुनर्स्थापना सेवा प्रदान गर्ने, उनीहरुलाई सिप तथा व्यवसायमा जोड्नका लागि सिप मूलक तालिम र सामग्री सहयोग गर्न नीतिगत सम्बोधन गर्न तथा बजेट विनियोजन गर्न ध्यानाकर्षण गराउनु भयो।
.jpg)
प्रत्येक पालिकाबाट सञ्जालका दुईजना प्रतिनिधि गरी जम्मा १२ जनाको प्रतिनिधि मण्डलले मुख्य मन्त्री तथा सामाजिक विकास मन्त्रीको निवासमा गई ध्यानाकर्षण पत्र प्रदान गरिएकाे हाे।
सोही कार्यक्रमका अवसरमा आइ एन एफ सुर्खेतले पहुँच तथा समावेशीकरण परियोजना अपाङ्गता भएका महिला तथा बालिकाको सशक्तिकरण परियोजना, साइनिङ अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य उपचार सेवा, पुनर्स्थापना सेवा, सहायक सामग्री निर्माण मर्मत र प्रवाह सेवा जस्ता सेवाको निरन्तरता र प्रभावकारिताका लागि प्रदेश सरकारको सहयोगको तथा साझेदारीको खाँचो भएको समेत बताउनु भयो ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्रीले अपाङ्गता भएका व्यक्तिहरूको साझा संस्थाका रूपमा संयुक्त रुपमा तथा साझा रूपमा आफ्ना माग तथा सरकार समक्ष ध्यानाकर्षण पत्र प्रदान गर्न आउनुभएका सबैलाई स्वागत भन्दै ध्यानाकर्षण पत्रका साझा सवालहरु सम्बोधन गर्न प्रदेश सरकार सधैं सकारात्मक रहेको छ भन्नुभयाे ।
ध्यानाकर्षण पत्रमा उठाइएका मुख्य विषयहरू प्रदेश तथा स्थानीय सरकारको चासो तथा सरोकारको विषय भएको हुँदा यथासक्य विषयहरूलाई सम्बोधन गर्ने धारणा राख्नुभयो।यसै क्रममा जसरी प्रदेश सरकार र स्थानीय सरकारको समेत ध्यानाकर्षण गर्न संयुक्त तथा साझा प्रकारले यहाँ सहभागी हुनुभएको छ त्यसैगरी कार्यस्थलमा तथा कार्यक्रम कार्यान्वयनमा समेत यहाँहरूको साझा सद्भाव र रहिरहोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो। साथै आइ एन एफले स्वास्थ्य तथा अपाङ्गताको क्षेत्रमा खेलेको भूमिका समेत उल्लेखीय रहेको बताउनुभयो।
यसैगरी सामाजिक विकास मन्त्रीले घनश्याम भण्डारीले, "सामाजिक विकास मन्त्रालय तपाईहरुको एक अभिभावकीय निकाय भएको हुँदा अपाङ्गताको सवालको सम्बोधनमा मन्त्रालयले नीतिगत कार्यान्वयनका लागि भर्खरै पालिका प्रमुखहरुसँग अन्तरक्रिया गर्नुको साथै सवाल सम्बोधनमा ध्यान दिन निर्देशन दिएको जानकारी दिनु भयो।
.jpg)
मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा ध्यान दिन योजना बनाएको, कृत्रिम अङ्ग निर्माण गर्न कार्यलाई विस्तार गर्नको लागि कार्य गर्दै आएको बताउनु भयो।अपाङ्गता भएका व्यक्तिहरूको सवाल सम्बोधनमा सरकारको सहयोगीको भूमिकाको रुपमा कार्य गरेकोमा आइ एन एफलाई समेत प्रशंसा गर्नुभयो।
उक्त कार्यक्रममा आइएनएफका आइएनएफका अस्पताल तथा परियोजना संयोजक ललित बहादुर सारु, पहुँच तथा समावेशीकरण परियोजनाका परियोजना अधिकृत लोकप्रसाद गौतम ,अपाङ्गता भएका महिला तथा बालिकाहरूको सशक्तिकरण परियोजनाको परियोजना सहायक सम्झना परियार लगायतको समेत सहभागिता थियो।
कार्यक्रमको अन्तमा पञ्चपुरी अपाङ्गता उत्थान केन्द्रका अध्यक्ष राजकुमार कँडेलले मुख्यमन्त्री सामाजिक विकासमन्त्री तथा आइ एन एफ सुर्खेतको परियोजना टिमलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।