ट्रेण्डिङ

होमपेज / समाज

सञ्चार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न माग

नेपालगाथा २०८१ चैत्र २१ गते बिहीबार २१:०१:३७ मा प्रकाशित

सुर्खेत । प्रेस चौतारी नेपालले सञ्चार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेको छ । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले बिहीबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै उक्त माग राखेको हो । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश इन्चार्ज यामप्रसाद शर्मासहितको टोलीले मुख्यमन्त्री समक्ष आठ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

प्रदेश सरकारले सञ्चार सामग्रीको बीमा कार्यक्रम सुरुवात गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षको नीति तथा कार्यक्रममा सञ्चार सामग्रीको खरिदमा अनुदानको व्यवस्था गर्न माग गरेको प्रेस चौतारी नेपाल प्रदेश समितिका उपाध्यक्ष हिक्मतबहादुर नेपालीले बताए । 

उनका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटलाई सञ्चारमैत्री बनाउन प्रदेश सरकारलाई आग्रह गरिएको छ । प्रदेश सरकारले योजना बनाएको आमसञ्चार प्रतिष्ठान विधेयकलाई तत्काल पारित गरि आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा लैजान आग्रह गरिएको प्रदेश उपाध्यक्ष नेपालीले बताए । प्रदेश सरकारले हाल वितरण गर्दै आइरहेको लोककल्याणकारी विज्ञापनलाई वर्षभरी नै वितरण गर्ने गरी व्यवस्था गर्न अनुरोध गरिएको उनको भनाई छ ।

यस्तै कर्णालीमा कार्यरत महिला, दलित र सीमान्तकृत समुदायका व्यक्तिले सञ्चालन तथा नेतृत्व गरेका सञ्चारगृहलाई प्रदेश सरकारले प्रदान गर्ने सेवा सुविधामा कम्तीमा २५ प्रतिशत थप प्रोत्साहन उपलब्ध गराउन माग गरिएको छ ।

पछिल्लो समय सूचना प्रविधिको विकाससँगै डिजिटल पत्रकारिताको अभ्यास सुरु भएको सन्दर्भमा कर्णालीका पत्रकारहरुलाई डिजिटल मिडिया सम्बन्धी क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकार आवासगृह स्थापनाका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरिएको बताउँदै प्रदेश उपाध्यक्ष नेपालीले आवासगृह स्थापनापछि प्रदेशको दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरु राजधानी आउँदा आवासको समस्या समाधान हुने बताए । पछिल्लो समय विभिन्न आन्दोलनका नाममा पत्रकार तथा सञ्चारगृहमाथि आक्रमण बढिरहेको भन्दै प्रेस चौतारीले कुनै पनि बहानामा पत्रकार तथा सञ्चारगृहमाथि हुने आक्रमणको भत्र्सना गरेको छ । कर्णालीमा रहेका पत्रकार तथा सञ्चारगृहको सुरक्षामा गम्भीर हुन प्रदेश सरकारको ध्यानाकर्षण गराइएको हो ।

ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री कँडेलले प्रेस चौतारीले राखेको मागहरुका सन्दर्भमा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । ‘यी मध्ये केही मागहरु कार्यान्वयनको चरणमा छन्, ध्यानाकर्षपत्रमा उल्लेखित केही नयाँ नयाँ विषयहरुमा सरकारले गर्न सक्ने कामहरुलाई कार्यान्वयनमा लैजान पहल हुन्छ,’ उनले भने । सोही अवसरमा प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनबाट निर्वाचित कर्णाली इन्चार्ज यामप्रसाद शर्मा, केन्द्रीय सदस्यहरु आकासतारा बयक, शेरबहादुर थापा, बिनोद लम्साल र मालती केसीलाई मुख्यमन्त्री कँडेलले बधाई दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top