होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको पाँचौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए ।
गत माघ ७ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको थियो । प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका ३१ वटा बैठक बसेका छन् भने जम्मा ३६ घण्टा एक मिनेट २५ सेकेन्ड समय व्यतीत भएको छ ।
पाँचौँ अधिवेशनले लामो समयदेखि नेतृत्व विहीन रहेका अर्थ तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र सामाजिक लेखा समितिको नेतृत्व चयन गरेको छ भने सात वटा विधेयक पारित भएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार हिउँदे अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश बिउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित भएका छन् ।