होमपेज / समाज
काठमाडौं । राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको आन्दोलनको क्रममा सञ्चारकर्मीको निधन भएको प्रति प्रेस चौतारी नेपालले भर्त्सना गरेको छ ।
प्रेस चौतारीका महासचिव हिरामान लामाद्वारा प्रकाशित विज्ञप्तीमा कथित राजावादी समूहको नाममा काठमाडौँमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार सङ्कलनमा रहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएकाेमा भर्त्सना गरेको हाे।
विज्ञेप्तीमा भनिएको छ, ‘सञ्चारकर्मीको ज्यान गुमेको र सञ्चारकर्मी, सञ्चारमाध्यममाथि भएको आक्रमणको घटनाले प्रेस चौतारी नेपाल स्तब्ध बनेको छ ।’
काठमाडौँको तीनकुनेमा प्रदर्शनकारीले हिंसात्मक ढङ्गले निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलामा बसेर समाचार छायाङ्कन गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै जलेर मृत्यु भएको छ ।
यसै गरी प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट दैनिकमा आगजनीको प्रयास गर्नुका साथै कान्तिपुर टेलिभिजनमा ढुंगामुढा प्रहार र हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन् ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिक अधिकार भए पनि आन्दोलनको बहानामा भएका यस्ता अराजक एवं आपत्तिजनक गतिविधिको सिकार सञ्चारकर्मी र सञ्चारमाध्यम हुनु गम्भीर चिन्ताको विषय हो ।
काठमाडौँमा सम्पन्न प्रेस चौतारी नेपालको प्रथम केन्द्रीय समिति बैठकले सो अराजक घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ । यस्ता घटनामा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न पनि बैठकले सरकारसँग जोडदार माग गरेको छ ।