होमपेज / समाज
सुर्खेत । साइनिङ्ग अस्पताल आइएनएफ सुर्खेतको पहुँच तथा समावेशीकरण परियोजनाको सल्लाहकार समितिको बैठक सिम्ता गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मीको अध्यक्षतामा सिम्ता गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
सिम्ता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर राना, पहुँच तथा समावेशीकरण परियोजना अधिकृत लोकप्रसाद गौतम, सिम्ता गाउँपालिका वार्ड नम्वर १ देखि वार्ड नम्वर ९ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विषयगत शाखा प्रमुख तथा प्रतिनिधिहरु, अपाङ्गता सञ्जालका अध्यक्ष तथा प्रतिनिधिहरु र प्रतिनिधि सेवाग्राहीहरुको उपस्थितिमा सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।
परियोजना सल्लाहकार समितिको बैठकको सञ्चालन परियोजनाका अनुगमन तथा रिपोर्टिङ अधिकृत अंशु पुनले गर्नुभएको थियो भने सहभागीहरूलाई स्वागत टिम लिडर दिलबहादुर चौधरीले गर्नु भएको थियो ।
सल्लाहकार समिति बैठकमा परियोजनाले हालसम्म गरेका प्रगतिका बारेमा परियोजना अधिकृत लोकप्रसाद गौतमले प्रस्तुत गर्नुभएको थियो । परियोजनाको लक्ष्य तथा प्रगतिका बारेमा प्रस्तुत गर्ने क्रममा गौतमले परियोजनाले हासिल गरेका उपलब्धिहरु, प्रतिफलहरू प्राप्त गर्नमा सिमता गाउँपालिकाको अभिभावकीय भूमिका, वडा कार्यालयहरूको साथ र सहयोग, विषयगत शाखाहरूको समन्वय र सहकार्यले नै महत्वपूर्ण योगदान दिएको कुरा बताउनुभयो ।
आइएनएफ सुर्खेतका दुईवटा कार्यक्षेत्र रहेका छन् जस अन्तर्गत एक अस्पताल सेवा विभाग, जहाँ अपाङ्गता भएका व्यक्तिहरू लागि पुनस्र्थापना सेवा, छालारोग उपचार सेवा, कुष्ठरोगको उपचार सेवा, फिजियोथेरापी सेवा, अपाङ्गता भएका बालबालिकाका लागि पुनस्र्थापना सेवा, डक्टरद्वारा नियमित चेकजाँच, स्वास्थ्य परीक्षण, ल्याब टेस्ट तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउनु भयो ।
अस्पतालबाट अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री, कृत्रिम सहज र सुलभ प्रकारले प्राप्त गर्न सक्नुहोस् भन्ने मान्यताका आधारमा सहायक सामग्री प्रवाह सेवा अन्तर्गत, सहायक सामग्रीको निर्माण, मर्मत र वितरणको कार्य गरिरहेको जानकारी गराउनु भयो । अर्को विभाग सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालित पहुँच तथा समावेशीकरण परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गर्ने, उनीहरूलाई उपचार सहयोग, जीविको सहयोग, पहुँचयुक्त स्वास्थ्य संस्था, घर, विद्यालयको शौचालय मर्मत, सुधार तथा निर्माण गरी अपाङ्गता भएका व्यक्तिहरूका सहज पंहुँच पुग्ने बनाउन सहयोग गरिरहेको व्यहोरा जानकारी गराउनु भयो । अपाङ्गता भएका व्यक्ति वा तिनका परिवारहरुका लागि जीविकोपार्जन सहयोग, व्यावसायिक तालिम, अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको संस्थागत क्षमता अभिवृद्धि, सवलीकरण गरी सेवा प्रवाहमा सहजीकरण गर्न साथ दिएको बताउनुभयो ।
उक्त कार्यक्रममा जनप्रतिनिधिको तर्फबाट प्रतिनिधित्व गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष कविराम गिरीले आइएनएफले अपाङ्गता भएका व्यक्ति र तिनका परिवारलाई घरदैलोमा नै गएर सेवा प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो । सरकारले गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएकोमा कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर रानाले आइएनएफ, अपाङ्गता भएका व्यक्ति र परिवारका लागि सुखदुखको साथी भएको बताउनुभयो ।
कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष तथा सिम्ता गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मीले आइएनएफको कार्यको प्रशंसा गर्दै आइएनएफको काम गर्ने शैली, पद्धति र सेवा भाव कार्यप्रतिको निष्ठा सबैले अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संयुक्त अनुगमनका क्रममा देखेका प्रगतिहरु पहुँचयुक्त स्वास्थ्य चौकीको शौचालय निर्माण सहयोग, अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम अङ्ग खुट्टा निर्माण सहयोग, पुनस्र्थापना सेवा सहयोग, बिऊ पुँजी प्रदान गरी अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनमा सहयोग गरेकोमा प्रशंसा गर्नुभयो ।
स्थानीय सरकार, अपाङ्गता भएका व्यक्तिहरूको घर दैलोमा पुग्न नसकेको अवस्थामा पनि अपाङ्गता भएका व्यक्तिको घर दैलोमा आइएनएफ उनीहरूको जीवनमा हाँसो र खुसी ल्याउनका लागि अपाङ्गता भएका व्यक्तिहरूको जीवनलाई सहज बनाउनका लागि समुदायमा उनीहरूको प्रतिष्ठा वृद्धिका लागि एक सारथीको रुपमा काम गरेको हुँदा पालिकालाई ठूलो राहत भएको जानकारी गराउनुभयो । अपाङ्गताका क्षेत्रमा आइएनएफ आउनुभन्दा पहिला र अहिलेको बजेट विनियोजन हेर्दा हाल अपाङ्गताका क्षेत्रमा बजेट क्रमश वृद्धि हुँदै गएको बताउनुभयो । पालिकाको सीमित स्रोत, साधन भएको र उक्त क्षेत्रमा दक्षताको समेत केही कमी भएको हुँदा थप समय प्रयोजनाको कार्य विस्तार लागि अनुरोध समेत गर्नुभयो ।
नेपालका गरिब र पिछडिएका जनता र समुदायका लागि आफ्नो पूर्णतामा जीवन भन्ने परिकल्पनाका साथ आइएनएफले १९५२ देखि नेपालमा कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएका मानिसहरूलाई मद्दत गर्ने, केही दुर्गम र गरिब समुदायहरूमा विकासलाई सहज बनाउँछ र मेडिकल आउटरिच कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ । ‘अपांगता भएका व्यक्तिहरुका लागि आर्थिक सुधार, पहुच तथा समावेशीकरण’ परियोजना सुर्खेतका ४ पालिकाहरु वीरेन्द्रनगर, पंचपुरी, गुर्भाकोट र सिम्तामा जुलाई २०२२ देखि २०२५ सेप्टेम्बरका लागि संचालित छ ।