ट्रेण्डिङ

होमपेज / समाज

पत्रकार महासंघ सुर्खेतकाे वेबसाइट सार्वजनिक

नेपालगाथा २०८१ चैत्र ३ गते आइतबार १७:४४:२० मा प्रकाशित

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अफिसियल वेबसाइट सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले शाखाको अफिसियल वेबसाइट एफएनजे सुर्खेत डट आोआरजी आइतबार सुभारम्भ गरेकी हुन् ।

वेबसाइटको सुभारम्भ गर्दै अध्यक्ष शर्माले महासंघले जवाफदेही र पारदर्शी पत्रकारिताको अभियान शुरु गरेकाे बताइन । महासंघको कार्ययोजना अनुसार वेबसाइट निर्माण गर्ने पहिलो शाखा सुर्खेत भएको उल्लेख गर्दै शर्माले यसबाट सदस्य शुद्धीकरणमा देखिदै आएको विवाद समाधानमा सहयोग पुग्ने बताइन् । वेबसाईटमा समावेश भएका विषयवस्तुले शाखाबाट हुने सम्पूर्ण गतिविधिलाई पारदर्शी बनाउने अध्यक्ष शर्माले बताइन् ।

वेबसाइट सुभारम्भ कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले वेबसाइटका विवरणमार्फत आवश्यक जानकारी लिन सहज हुने बताए । पछिल्लो समय सिङ्गो पत्रकारिता क्षेत्रमाथि नै हमला भइरहेको उल्लेख गर्दै महासचिव दाहालले संघीय सरकारले निर्माण गरेको सामाजिक सञ्जाल नियमन विधेयकमा राखिएका प्रेस स्वतन्त्रतामा आघात पुर्याउने व्यवस्था स्वीकार्य नहुने बताए ।

संघीय सरकारले मात्रै होइन प्रदेश र स्थानीय तहले निर्माण गरेका कतिपय कानुनहरु प्रेसमैत्री नभएको दाहालको दावी थियो । मिडियामाथि आएको संकटले सिङ्गो लोकतन्त्र छोपिने खतरा बढेको बताउँदै महासचिव दाहालले मिडियाको दिगोपनामा तीनै तहका सरकारले सोच्नुपर्ने बताए । 

पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्न महासंघले अभियान थालेको समेत उनले बताए । महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माले कार्ययोजना अुरुप वेबसाइट निर्माण गरिएको बताए । महासंघलाई श्रमजिविका पक्षमा वकालत गर्न भावि दिनमा कार्ययोजना बमोजिमका कामहरु अगाडि बढाउँदै लैजाने अध्यक्ष शर्माको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top