ट्रेण्डिङ

होमपेज / समाज

राजनीतिक दलहरूका कमजोरीलाई व्यवस्थाको असफलतासँग जोड्नु हुँदैन – मुख्यमन्त्री कँडेल

नेपालगाथा २०८१ चैत्र १ गते शुक्रबार १९:४३:११ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले राजनीतिक दलहरूका कमजोरीलाई व्यवस्थाको असफलतासँग जोड्न नहुने बताएका छन् । 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको ‘व्यावसायिक र उत्तरदायी पत्रकारिताका लागि लैंगिक संवेदनशीलता’ विषयक तीन दिने तालिम उद्घाटन समारोहमा बोल्दै उनले लोकतन्त्रको विकल्प कुनै पनि व्यवस्था हुन नसक्नेमा जेड दिए । 

उनले लोकतन्त्रका कारण देशमा केही पनि नभएको भन्ने प्रचारलाई असत्य भन्दै लोकतन्त्र बचाउन लोकतन्त्रवादीहरू नै सक्रिय हुनुपर्ने धारणा राखे । उनका अनुसार केही कमजोरीहरू भएका भए पनि लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबैको दायित्व हो ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको आमसञ्चार कानुन पत्रकारहरूको अधिकार सुरक्षित गर्ने गरी ल्याइने बताए । तर, सुविधासँग जोडिएका विषयमा आर्थिक भारका कारण केही चुनौती रहेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भइरहेको बताइन् । उनले पत्रकारहरू कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताउँदै स्वतन्त्र प्रेसको आवश्यकतामा जोड दिइन् ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले महिलाहरूको व्यावसायिक विकासका लागि महासंघले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । 

कार्यक्रममा नरेशसिंह थापा, धर्मराज जिसी, शुशील शर्मा, सीता वली, अप्सरा बिष्ट लगायतका वक्ताहरूले कर्णालीको पत्रकारिता क्षेत्रलाई अझ व्यावसायिक बनाउन आवश्यक रहेको बताए ।

महासंघका महासचिव खगेन्द्र भट्टराईका अनुसार पहिलो चरणमा सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका ४० जना पत्रकार महिलाहरूलाई तालिम दिइएको छ। बाँकी ६ जिल्लाका पत्रकार महिलाहरूका लागि आगामी दिनमा तालिम आयोजना गरिने उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top