होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयकाे तेस्रो दीक्षान्त समारोहबाट ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित हुँदैछन् । सोमबार पत्रकार सम्मेलनमा ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन एवम् मध्यपश्चिम विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह, संचार तथा प्रचार-प्रसार उपसमितिका संयोजक सह प्रा.डा. लीलाधर तिवारीले दीक्षान्त समाराेहमा दीक्षित हुनका लागि ८ सय ८५ जना विद्यार्थीले प्रत्यक्ष रूपमा सहभागिता जनाउने जानकारी दिनुभयाे ।
दीक्षान्त समारोहमा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता रहनेछ। साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईको समुपस्थितिमा कार्यक्रम सम्पन्न हुने विश्वविद्यालयले जानकारी दिएको छ।
यस समारोहमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्।
.jpg)
दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ। स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीन जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट तीन जनालाई उपकुलपति पदक प्रदान गरिनेछ। त्यस्तै, स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन्।
विश्वविद्यालयका अनुसार ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेस, ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्ट, ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नाेलाेजी, ग्य्राजुएट स्कुल अफ इञ्जिनियरिङ, ग्य्राजुएट स्कुल अफ लका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहका विद्यार्थीहरु दीक्षित हुनेछन् ।
विश्वविद्यालयका पदाधिकारीहरूका अनुसार समारोहलाई भव्य र व्यवस्थित बनाउन सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन्।
मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार बिहान ११ बजे सुर्खेतस्थित केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा गर्ने जनाएको छ।