होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका दुई प्रमुख विमानस्थलको स्तरोन्नति तथा विस्तारका लागि सरकार अघि बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुर्खेत, जुम्ला र दाङ टरीगाँउको विमानस्थलका लागि आवश्यक स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा प्रक्रिया अघि बढाएको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विमानस्थल स्तरोन्नतिका लागि कुल १६ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । जसमध्ये जुम्ला विमानस्थलका लागि १ अर्ब, दाङ्ग टरीगाँउ विमानस्थल जग्गा अधिग्रहण कार्यका लागि ५ अर्ब र सुर्खेत विमानस्थल जग्गा अधिग्रहण कार्यका लागि १० अर्ब रुपैयाँको आवश्यकताको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले हवाई सेवा सुधार तथा क्षेत्रीय हवाई कनेक्टिभिटी विस्तारलाई प्राथमिकता दिँदै विमानस्थलहरूको स्तरोन्नति गर्न लागेको हो ।
सुर्खेत विमानस्थललाई क्षेत्रीयस्तरको हवाई केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ । स्थानीय सरोकारवालाहरूले विमानस्थल स्तरोन्नतिले कर्णाली प्रदेशको समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । कर्णालीमा यातायातको सीमित पहुँच रहेको अवस्थामा हवाई सेवा स्तरोन्नतिले पर्यटन, व्यापार, र स्थानीयबासीको आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
सरकारको यो निर्णयले कर्णाली प्रदेशको विकास र समृद्धिमा योगदान पु¥याउने भन्दै सरोकारवाला निकायहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । अब स्रोत सुनिश्चित भएपछि स्तरोन्नतिको काम अघि बढ्ने अपेक्षा गरिएको छ ।