होमपेज / समाज
सुर्खेत । नेपाली काँग्रेसका नेता तथा सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशन विधानअनुसार हुने बताएका छन् । आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधानअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका हुन् ।
सिंहले पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले राजनीतिक स्थायित्वका लागि विभिन्न चुनौती सामना गरिरहेका छौँ । अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ, जसमा मन्त्रालयहरूले कत्तिको प्रभावकारी रूपमा काम गरेका छन् भन्ने अध्ययन भइरहेको छ ।’ उनले हालै सरकारले सार्वजनिक गरेको बजेट अनुसारका विकास योजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गरिनुपर्ने बताए ।
पार्टीभित्र सभापति चयनको दौडलाई लिएर अहिले विभिन्न अड्कलबाजी भइरहेका बेला सिंहले आफू कुनै पनि हालतमा पछाडि नहट्ने संकेत गरेका छन् । ‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन,’ उनले दोहोर्याउँदै भने, नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ । यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।
उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थी कालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले उनलाई थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको दाबी गरे । मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको छु उनले भने ।
नेपाली काँग्रेसको आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ । सभापति पदका लागि विभिन्न नेताहरूले दाबी गरिरहेका छन् । देउवा पक्षबाट निरन्तरता दिने संकेत मिलिरहेका बेला अन्य नेताहरू संस्थागत सुधारको नारा दिएर मैदानमा उत्रने तयारीमा छन् ।
सिंहले यसै सन्दर्भमा आफू संस्थागत पार्टी निर्माणका लागि दृढ रहेको बताएका छन् ।