ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका पत्रकारलाई खोजपत्रकारिता तालिम

नेपालगाथा २०८१ फाल्गुण १६ गते शुक्रबार १९:२३:५३ मा प्रकाशित

सुर्खेत । कर्णालीका पत्रकारहरुका लागि खोजपत्रकारिता तालिम सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिम कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको हो । युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोग तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको समन्वय र सम्बन्ध नेपालको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले समाजमा हरेक समस्या उजागर गर्न खोज पत्रकारिता आवश्यक रहेको बताएका छन् । मन्त्री भण्डारीले समाजका वास्तविक समस्या उजागर गर्न तथ्यमा रहेर गहिरो अध्ययन पश्चात आउने नतिजाले राज्यलाई नीति निर्माणमा सघाउ पुग्ने बताए । 

राज्यको चौथो अंग मानिने पत्रकारिताले समाजलाई सही मार्गमा ल्याउन वास्तविक समस्या उजागरमा जिम्मेवार बन्नुपर्ने धारणा राखे । पछिल्लो समय आमनागरिकमा देशमा केही पनि भएन भन्ने भाष्य परेको उल्लेख गर्दै मन्त्री भण्डारीले यसलाई चिर्न पत्रकार जगतले विशेष भूमिका खेल्नुपर्ने बताए । सरकारले अपेक्षा गरे अनुसार काम गर्न नसके पनि कामै गरेको छैन भन्ने भाष्य गलत रहेको उनको भनाई छ । खोज पत्रकारिता गर्दा आउने चुनौतीबाट बिचलित हुन नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले तालिमले नभई यसका लागि भित्रैदेखि रुचि हुनुपर्ने बताए । 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष विष्णु शर्माले खोज पत्रकारितालाई व्यवहारमा लागू गर्न सकेमा कर्णालीको समृद्धिमा टेवा पुग्ने बताए । उनले खोज पत्रकारिताको व्यवसायिक प्रयोगले लुकेका र लुकाउन खोजेका सवाल बाहिर आउने र त्यसले देश विकासमा सकारात्मक टेवा पुग्ने बताए । 

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशील शर्माले तालिममा सिकेका विषयबस्तु व्यवहारमा लागू गर्न आग्रह गरे । उक्त तालिममा कर्णाली प्रदेशका २४ जना पत्रकारहरुको सहभागिता रहेको सम्बन्ध नेपालका अध्यक्ष लोकेश गिरीले बताए । 

तालिममा कर्णालीमा खोजपत्रकारिताको अभ्यास र अवसरबारे छलफल गरिनेछ । यस्तै, खोज समाचारका स्रोत र संरचना, खोज समाचारमा भाषा, खोज समाचारको तयारी, खोज पत्रकारमा हुनुपर्ने गुण र ध्यान दिनुपर्ने विषय, सूचनाको हक र सुचना माग्ने प्रक्रियाबारे पत्रकारहरुलाई अभिमुखीकरण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top