ट्रेण्डिङ

होमपेज / समाज

माधव नेपालहरू एमाले सिध्याउने नाममा आफैँ सक्किदैं छन् - पत्रकार सुवेदी

नेपालगाथा २०८१ फाल्गुण १४ गते बुधबार २१:२९:१७ मा प्रकाशित

काठमाडौं । पत्रकार विश्वमणि सुवेदीले माधव नेपालहरू एमाले सिध्याउने नाममा आफैँ सक्किदैं गएकाे बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टी निकट प्रेस संगठन नेपालको अध्यक्ष छाडेर केही समय अघि प्रेस चौतारी नेपालमा फर्कनु भएका सुवेदी आफूहरू विद्रोहको नाममा दक्षिणपन्थी अवसरवादीको घाटमा पुगेर फर्किएको बताउँदै अहिले पनि नक्कली स्किन सटको सहारामा आफूलाई बदनाम गराउन सो पार्टी लागेको बताउनुभएको छ ।

आफू प्रेस चौतारी बनाउने अभियानमा लागेकोले आफ्ना विरुद्ध कुनै पनि खालका भ्रम फैलाएर नहिँड्न उहाँले चेतावनी दिनुभएको छ ।

‘हामी हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको एकता र सशक्तीकरणको अभियानमा छौँ, केही समय म सहितका सहयोद्धा दक्षिणपन्थी अवसरवादको मतियारीमा गयौँ, अहिले हामी त्यो घाटबाट फर्किएका छौँ, यहाँसम्म आउँदा समाजवादीका केही घाटहरू अत्तालिएका छन्, हामीलाई अनेक किसिमले अप्ठ्यारो पार्न तल्लीन छन्, प्रेस चौतारीमा लामो समय सहकार्य गरेका साथीबिच फाटो ल्याउन उनीहरू नक्कली स्क्रिन सटको सहारामा लागेका छन्, यद्यपि हामी एकताबद्ध छौँ’, सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । 

आफूले हिजो प्रेस चौतारी छोडेर अर्कोतिर लाग्दा पनि कसैलाई व्यक्तिगत लाञ्छना नलगाएको उहाँले उल्लेख गर्नुभएको छ ।  ‘अहिले हाम्रो संगठनका साथीबिच फैलाइएको एउटा नक्कली, बनावटी म्यासेञ्जरका शब्दले कतिपय साथीका वैयक्तिक विषयलाई उछाल्दै, त्यसको प्रस्तुत कर्ता मलाई बनाउने काम भइरहेको छ, त्यो मबाट हुनसक्ने कुरै हैन, जिन्दगीको लामो समय घाटहरूमा बिताइएछ, जहाँ अशान्ति, कलह र वैमनस्यताबाहेक केही थिएन,  धोबीको घाट–जहाँ काल्पनिक कथ्य रचेर सद्दे कपडालाई पिटिरहिन्छ, म त्यहाँबाट मुक्त छु, आलोकनगरको बागमती घाट–जहाँ माधव नेपालहरू एमाले सिध्याउने नाममा आफैँ सकिरहेका छन्, म त्यहाँबाट पनि मुक्त छु’, उहाँले लेख्नु भएको छ ।  

उहाँले ती घाटले रचेका काल्पनिक र बनावटी कथाको भ्रमबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभएको छ । ‘मैले त्यहाँबाट केही ल्याएको छैन, भएको चिज त्यतै फ्याँकेको छु, अब मूल घरमा फर्किएको मान्छेलाई कसैले बिथोल्न नखोज्नु होला’, सुवेदीले चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top