होमपेज / समाज
मनाेज बाेहाेरा, हुम्ला । हिमाली जिल्ला हुम्ला फागुन १२ गते देखि लाग्ने चैतलो (देउडा) पर्व आजबाट सुरु भएको छ। हुम्ला जिल्लाका केही समुदायमा विशेष गरी साबिक सिमकोट गाउँपालिकाका वडा नं १,२,५ र ६ मा लाग्ने मेला परावूर्व कालदेखि दुई दिनसम्म चल्ने गर्दछ ।
श्रीमान् हुने महिलाहरुले परम्परागत पहिरन घाँग्रो चाँदी, सुनका गहनाका साथमा सजिएर भुवाखाड, चौपाडीमा गई चैतलो खेल्ने गरिन्छ। भने पुरुषले पनि च्यालक, बख्खु, उनिउको कम्मललगायतका परम्परागत पहिरनका साथमा राजा रानी, मानेर खेल्ने गर्दछन्।
खर्पेलगाउँको चोलाखार भन्ने ठाउँबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो खेलिरहेको समयमा लुभ्यारु (अगाडि) लागे कि महिलालाई भगाएर लगेको पुर्खाहरु बताउँछन्। राक्षसले महिलालाई फेरि पनि भगाउन नपाओस् भनि चैतलो खेलिरहेकै समयमा पुरुषहरुले फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै रमाईलो गर्ने गरेको पाईन्छ। जसलाई धाङ्च्या नाच पनि भनिन्छ।
दुई दिनसम्म लाग्ने चैतलो पर्वको पहिलो दिन चैतलो, धान्च्या, मान्या, राजा रानी र छेलो हान्ने प्रतियोगिता गरिन्छ । यसैगरी दोस्रो दिनमा काठको सामाग्रीबाट बनाइएको घोड (घोडा चडेर) नृत्य पनि गरिन्छ । साथै बोहरा र भण्डारी थर बीच माने नाच प्रतियोगिता गर्ने गरिन्छ।
पहिले पहिले छेलो हान्नका साथै चैतलो हेर्नका लागि विभिन्न गाउँबस्तीबाट दर्शकहरुको अत्याधिक भिडभाड हुने गर्दथ्यो । तर अहिले बाहिर गाउँबाट पनि नआउने र गाउँबासीहरु पनि गाउँ बाहिर नजाने हुँदा चैतलो पर्व लोप हुने अवस्थामा पुगेको छ।