होमपेज / समाज
सुर्खेत | मानिसको शरीरका लागि नभई नहुने तत्वमध्ये एक हो, रगत । रगत यस्तो चिज हो, जसले मानव जीवनका लागि अभिन्न तत्वका रूपमा काम गरिरहेको छ । र, यही रगतको अभावका कारण कयौंले ज्यान गुमाइहेका छन् । उपचारका क्रममा रगत अभावको समस्या झेल्ने देशभर कयौं बिरामी छन् ।
कर्णाली प्रदेश आफैंमा स्वास्थ्य क्षेत्रमा पछाडी छ । यहाँ रक्तदान गर्ने भन्ने बित्तिकै धेरै मानिस पन्छिन्छन् । अहिले पनि रक्तदानका लागि तयार भइहाल्ने जमात छैन । हिजोका दिनमा हुने झन् कुरै भएन । आफ्नो शरीरबाट रगत निकाल्दा मरिने पो हो कि भन्ने भ्रम थियो ।
तर, पछिल्लो समयमा कर्णालीमा रगतको अभाव विस्तारै कम हुँदै गएको छ । किनकी यहाँ रक्तदाताहरू बढिहेका छन् । तिनैमध्येका एक हुन्, सुर्खेतका प्रवाश कुमार शाक्य । जसले हालसम्म ८५ पटक रक्तदान गरिसकेका छन् ।
२०३४ साल असार २९ गते भानु जयन्तीका दिन जन्मिएका प्रवाश स्वयंसेवी रक्तदाता हुन् ।
२० वर्षको उमेरमा पहिलो रक्तदान
उनले नेपालगञ्जमा रहेको एक प्राथमिक विद्यालयबाट शिक्षा ग्रहण गर्न शुरू गरेका थिए । उनको बुवाको जागिरको सिलसिलामा सुर्खेतमा बसाइँसराइ गरे । उनी श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा भर्ना भए । त्यसपछि उनले नेरा मावि (डाँडास्कूल) र जन माविमा अध्ययन गरे ।
मानिसको जीवनको महत्त्वपूर्ण चिज रगत हो भन्ने कुरा उनले पहिलोपटक रक्तदान गर्दा थाहा पाए । त्यतिबेला उनी २० वर्षका थिए । उनले पहिलो पटक गरेको रक्तदान एक गर्भवतीको ज्यान बचाउनका लागि थियो । हुन त त्यसभन्दा अगाडि पनि उनलाई करिब २०५४ सालतिर नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका प्राविधिक प्रकाश श्रेष्ठले रक्तदान गर्न भनेर भनेका थिए । तर, त्यसबेला भने आफू भागेको शाक्य स्मरण गर्छन् ।
त्यसको केही दिनपछि उनका साथी लक्ष्मण कँडेल (लक्षु)ले ‘तिमीसँग काम छ एकछिन मेरो घर जाउँ’ भनेर लगे । ‘मैले पनि कामै त होला भनेर उसँगै गए । उसले त मलाई झुक्याएर अस्पताल पो पुर्यायो । अस्पतालमा कसैलाई भेट्न होला भनेको त रक्तदान गर्नलाई पो रैछ’, शाक्यले भने, ‘यसपटक भाग्न मिल्ने नै भएन । अनि डर त्रास मान्दै पहिलो पटक रक्तदान गरेँ।’
उनले यो कुरा साँझ घरमा आएर सुनाए । त्यतिबेला सबैभन्दा खुशी उनको बुवा जीवनकुमार शाक्य भए । उनले ‘आज जीवनमा पहिलोपटक पूण्यको काम गरिस्’ भनेर प्रंशसा गरे । ‘अब रक्तदान गर्न नछोड्नु भनेर थप हौसला र प्रेरणा दिनुभयो। कुनैदिन मैले रक्तदान गर्न मानिनँ भन्ने कुरा थाहा पायो कि उहाँ रक्तदान किन नगरेको भनेर रिसाउनु हुन्थ्यो’, प्रवाश भन्छन्, ‘त्यो समयमा मेरो बुवा र दाइ सुभाषकुमार शाक्यले नियमित रक्तदान गरिरहनुहुन्थ्यो ।’
एकदिन रक्तदान गरेर आएपछि उनी आफ्नो पसलमा बसिरहेका थिए । एक जना व्यक्ति ‘प्रवाश शाक्य भन्ने मान्छे को हो ?’ भन्दै सोध्दै उनको पसलसम्म आइपुगे । उनले ‘म नै हो तपाईंले खोजेको मान्छे’ भने । अनि उसले तपाईंको चिठ्ठी आएको छ यो चिठ्ठी लिनुस् भनेर दिएर गए । उनले चिठ्ठी खोलेर हेरे त्यसभित्र १०० रूपैयाँको नोट थियो । यो २०५५ सालको कुरा हो । थाहा छैन उसलाई त्यो एक रूपैयाँ कसले पठाएको थियो ।
अनि रक्तदाता संगठन त्यागे
उनको रक्त समूह ‘ए’ पोजेटिभ । तीन महिनामा एकपटक रक्तदान गर्न मिल्ने भएका कारण हरेक चौंथो महिनाजसो उनलाई रक्तदानका लागि बोलावट भइहाल्थ्यो ।
यसैबीच, काठमाडौंबाट आएको सूचना अनुसार सुर्खेतमा पनि स्वयंसेवी रक्तदाताहरूको संगठन (ब्लड डोनर्स एशोसिएसन) बनाउने कुरा आयो । संगठन बनाएर, संगठित भएर काम गर्न थप सजिलो र प्रभावकारी हुने निष्कर्षसहित उनीलगायत स्वेच्छिक रूपमा रक्तदान गर्ने व्यक्तिहरू संगठनमा आबद्ध हुने निधो गरे ।
तर, जब संगठन निर्माणका लागि भेला भयो, संगठनमा बस्न खोज्नेहरूको हानथाप भयो । मुस्किलले जम्मा एकपटक रक्तदान गरेका व्यक्तिहरू नेतृत्व लिन होडबाजी गर्न थाले ।
‘सायद त्यो संस्थाको आर्थिक पक्षका कारण हो या सबै संघसंगठनमा हालीमुहाली जमाइहाल्ने पार्टीगत स्वार्थका कारण हो । हामीजस्ता स्वयंसेवी रक्तदाता त्यो संगठनमा अट्न सकेनौं । त्यसपछि रक्तदानजस्तो संवेदनशील र पवित्र मानवीय कार्यमा समेत फोहोरी राजनीतिको दुर्गन्ध चाल पाएपछि म लगायतका साथीहरू त्यो फोहोरी राजनीतिबाट टाढै रहने गरी अलग हुने निष्कर्षमा पुग्यौं’, प्रवाश भन्छन्, ‘तर, केहि साथीहरूले संस्थागत गतिविधिबारे बुझ्नकै लागि भएपनि एक जना समितिमा बस्नुपर्ने सुझाव दिए बमोजिम सुर्खेतमा पहिलो पटक गठन भएको उक्त समितिमा म पनि समावेश भएँ ।’
तर, उनलाई संस्थाको उद्देश्यविपरीत राजनीति छिरेको आभाष हुन थाल्यो । उक्त संस्थाले कहीँकतै केही कार्यक्रम गरेको भन्ने खबर स्थानीय पत्रपत्रिका वा अन्य चिनेजानेका मान्छेबाट थाहा पाउँथे, प्रवाश ।
‘आफू मान्छेको ज्यान बचाउनुपर्छ भन्ने निःस्वार्थ भावना बोकेर समाजसेवामा लागेको । रगतमा हुने यस्ता राजनीति किन चाहियो ? भन्ने सोच आएपछि मैले त्यो संस्थासँगको आवद्धता त्यागिदिएँ । स्वेच्छिक रूपमा भने आफ्नो रक्तदानको यात्रा निरन्तर अघि बढाएँ’, प्रवाश भन्छन् ।
कुनै समयमा रक्तदानका लागि मरिमेट्ने उनका मित्र थिए, पुनम बीसी । रगतको जोहो गर्न उनी मरिहत्ते गरेको देखेर आफू पनि यसै गरेर लाग्नुपर्छ भन्ने प्रवाशलाई लाग्यो ।
‘एकदिन राति पुनम भाइले दुर्लभ नेगेटिभ समूहको रगत एकदमै आवश्यक रहेको खबर गर्नुभयो । विरलै मात्र पाइने दुर्लभ उक्त समूहको रगत भएको व्यक्तिबारे सोधखोज गर्दै जाँदा लाटीकोइलीको तल्लो क्षेत्र तिलपुरकी एक महिलाको रगत मिल्ने भन्नेसम्मको सूचना त पाइयो तर, रातको समयमा अर्काको घरमा महिला खोज्दै जान पनि हामीलाई सकस भयो’, उनी भन्छन्, ‘त्यसपछि पुनमजी र म सल्लाह गरेर सँगै जाने निधो गर्यौं । मेरी श्रीमती सुशीलाले रातको समयमा एक्लैदुक्लै हिँड्न नदिने बरु आफूपनि साथमै जाने भनेर अडान लिएपछि मैले नाइँनास्ति गर्नसक्ने अवस्थै रहेन ।’
मध्यरातको समय तिलपुर गएर ती महिलालाई रक्तदानका लागि उनीहरूले धेरै आग्रह गरे । अनुनय विनय गरेर नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रमा ल्याई रक्तदान गराए । त्यसपछि राति नै उनलाई घर छाडे फर्किए ।
‘त्यसको केही दिनपछि उहाँलाई मैले बाटोमा हिँडिरहेको देखेँ । तपाईंलाई कस्तो छ भनेर सोधेँ । उहाँले तपाईंहरू त कस्तो मान्छे त्यसदिनदेखि त कमजोर भएँ भनेर भन्नुभयो । मैले उहाँलाई रक्तदानका विशेषता र सकारात्मक पक्षबारे धेरै कुरा सम्झाइबुझाई गरेँ । त्यसपछि भने उहाँसँग भेट हुन सकेको छैन’, प्रवाशले भने ।
कोरोनाकालको त्यो समय
देशमा कोभिड-१९ संक्रमणको कालखण्ड आयो । उक्त समयमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रगतको माग बढ्न थाल्यो । तर, सुर्खेतमा रेडक्रसले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा केवल होलब्लड मात्रको सुविधा थियो ।
त्यसपछि उनी त्यही ब्लड डोनर्स एशोसिएसनलाई सक्रिय गराउनुपर्छ भन्नेतिर लागे । किनकी त्यत्तिबेला बाहिर निस्कनै नपाइने अवस्थामा एक्लो मान्छे कता कता दौडिने भन्ने लागेपछि संस्थाको नाम र आडमा केही काम गर्न सकिन्छ भन्ने लाग्यो ।
‘संस्था ब्यूँताउन खोजेको तर, फेरि उही राजनीतिले छोडेन । अन्तिममा मैले त्यतातिर ध्यान दिनै छोडिदिएँ । कोरोनाको महामारीमा हामीले स्वेच्छिक रूपले बनाएको साथीहरूको समूहले रक्तदानका लागि मात्र नभई आवश्यक परेकालाई अक्सिजन र कोरानाबाट ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा पनि लाग्यौं’, प्रवाश भन्छन् । यो बेलासम्म उनले ८५औं पटक रक्तदान गरिसकेका थिए । यतिबेलासम्म कर्णाली प्रदेशको सन्दर्भमा सर्वाधिक रक्तदाताका रूपमा उनको नाम रेडक्रसको रेकर्डमा चढिसकेको थियो ।
उनीसँगसँगै अर्का रक्तदाता गणेश कार्की पनि उनलाई पछ्याउँदै थिए । उनी धेरै रक्तदान गर्ने दोस्रो नम्बरमा थिए ।
‘एकपटक बर्दियाबाट स्वयंसेवी रक्तदाता प्रेम लम्साल सरको फोन आयो । उहाँले तपाईं त सुर्खेतको सर्वाधिक रक्तदाता हुनुहुँदो रैछ । तपाईंको सक्रियतामा सुर्खेतमा पनि नेपाल स्वयंसेवी रक्तदाता समाज गठन गर्नुपर्यो तपाईंको विचार के छ ? भन्नुभयो’, प्रवाश भन्छन्, ‘मैले पनि स्वेच्छिक रूपले रक्दान गर्न हरहमेशा तयार रहने रक्तदातालाई संगठित गर्न कुरामा असहमति जनाउने कुरै भएन । तत्कालै हुन्छ भनिदिएँ ।’
त्यसपछि उनलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष नेपालका सर्वाधिक रक्तदाता (१८१ पटक) प्रेमसागर कर्माचार्यको फोन आयो । उनले संस्था गठन गर्न आफू सुर्खेत आउन चाहेको बताए । २०७९ साउन १२ गते उनलाई सुर्खेत आउने निम्तो दिइयो। त्यसदिन सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा बृहत रक्तदान कार्यक्रम पनि राखिएको थियो । त्यसैदिन नेपालका सर्वाधिक रक्तदातासँगै उनले पनि रक्तदान गर्ने मौका प्राप्त गरे ।
यसैक्रममा उनी नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय सदस्यमा निर्विरोध चयन पनि भए । उनको बुवाको २०८० पुस ६ गते निधन भयो । बुवाको ४५औं दिनको पूण्यतिथिसम्म उनी सेतो वस्त्र (बरखी)मा थिए । त्यही समयमा उनले बुवाको सम्झनामा रक्तदान गर्ने मौका पाए ।
‘मैले सेतो वस्त्रमा हुँदा रक्तदान गरेको देखेर अन्य मानिसहरू अचम्मा पर्थे । तर, मेरो धर्म भनेकै रक्तदान भएकाले म पछि परिनँ’, प्रवाश सुनाउँछन् । उनले बैतडीको खप्तड पुगेर पनि रक्तदान गरेका छन् ।
एक महिलाले भनिन्- तपाईं त्यो रात नआइदिएको भए...
एकपटक कर्णाली प्रदेश अस्पतालमा भर्ना भएकी एक जना महिलाका लागि पोजिटिभ र नेगेटिभ दुवै किसिमको रगत आवश्यक परेको रहेछ । प्रवाशलाई मध्यरात एक जना महिलालाई रगत आवश्यक परेको भनेर फोन आयो । दुर्लभ रगत चाहिएको भनेपछि उनी पनि आपतमा परे । राति उठेर जान खोजेपछि प्रवाशलाई श्रीमतीले रोक्न खोजिन । उनले सम्झाएर श्रीमतीलाई पनि सँगै लिएर अस्पताल पुगेर रगतको जोहो गरे ।
केही दिनपछि तिनै महिला प्रवाशसँग बाटोमा भेटिइन् र भनिन्– तपाईं त्यो राति नआइदिएको भए आज म यो संसारमा हुने थिइनँ होला । त्यो कुराले आफूलाई थप हौसला दिएको प्रवाश बताउँछन् ।
प्रवाश साथीहरूलाई एउटै कुरा भन्छन्– रक्तदान चाहिँ गर्नुपर्छ है !
उनको नेतृत्वमा सुर्खेतमा स्वयंसेवी रक्तदाता समाज सक्रिय छ । उनी स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय सदस्य पनि हुन् ।
संस्थामार्फत् प्रदेशभर रक्तदानको क्षेत्रमा काम गरिरहेका छन् । कर्णालीमा दानमा दिइएको रगतलाई सरकारले बिरामीलाई निःशुल्क दिनुपर्छ भनेर उनले संस्थामार्फत् पैरवी गर्दै आएका छन् । लाेकान्तरबाट ।