होमपेज / समाज
काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नीति र नेतृत्व माथि आक्रमण हुँदा प्रेस चौतारी आबद्ध पत्रकार चुप लागेर बस्न नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो अधिवेशनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष बस्नेतले देशको स्वाभिमानको झण्डा उठाउने नेता माथि चौतर्फी आक्रमण हुँदा प्रेस चौतारी नेपालका सदस्यले निदाएको नाटक गर्न नहुने बताउनुभयो । ‘हामी इमान भएका मानिसलाई इमानदार बनाउने अभियानमा लगेका हौँ’, बस्नेतले भन्नुभयो ।
प्रेस चौतारी नेपाल यसका सदस्यहरू इमानमा बाँचेका पत्रकार भएका बताउँदै बस्नेतले कसैले यो संगठनको इमान माथि प्रश्न उठाउँछ भने संगठनले त्यसको प्रतिवाद गर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल कहिल्यै पनि इमानबाट नडगमगाई गौरवशाली इतिहास बोकेर आएको संगठन भएको उहाँले स्पष्ट पार्नुभयो ।
.jpg)
विचार बिनाको पत्रकारिता व्यावसायिक हुन नसक्ने बस्नेतले स्पष्ट पार्नुभयो । व्यावसायिक पत्रकारिता भनेको विज्ञापन लिने र खाने पत्रकारिता मात्र नभएको उहाँले बताउनुभयो । व्यावसायिक पत्रकारिता भनेको देशको विकास र समृद्धिको लागि काम गर्ने पत्रकारिता भएको बस्नेतको धारणा छ । प्रेस चौतारी नेपाल जनताको बहुदलीय जनवादको जगमा उभिएर पत्रकारिता गर्ने पत्रकारहरूको संगठन भएको बस्नेतले बताउनुभयो ।
बस्नेतले पत्रकारहरूले लेख्ने पत्रकारलाई मात्र नेता मान्ने भएकोले प्रेस चौतारी नेपालका नेताहरूले लेख्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । लेख्ने काम छाडेर नेताका पछि लाग्ने पत्रकारलाई कसैले पनि नेताको रूपमा नस्विकार्ने उहाँले स्पष्ट पार्नुभयो ।
अधिवेशनबाट श्रीहरि थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनलाई नेकपा एमालेका उपमहासचिव एवं नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतले सम्बोधन गर्नुभएको थियो ।