होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पक्षधरताको आधारबाट बजेट विनियोजन हुने प्रवृत्तिलाई अन्त्य गर्न सरकारले नीति ल्याउन लागेको बताएका छन् । सोह्रौं योजना कार्यान्वयन तथा समपुरक र विशेष अनुदान विषयमा प्रदेश र स्थानीय तह लक्षित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कडेलले पक्षधरताको आधारमा बजेट विनियोजन हुने परिपाटीलाई अन्त्य गर्न आफ्नो उदेश्य रहेको धारणा राखेका हुन् ।
जननिर्वाचित सरकारले पक्षधरता र अनुहारको आधारमा बजेट विनियोजन गर्दा आम मतदातामा त्यसले गलत सन्देश जाने हुनाले पक्षधरता भन्दा आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सरकारले नीतिगत र कानूनी व्यवस्था गर्न मुख्यमन्त्री कडेलको जोड थियो । उनले भने, ‘अनुहार र पार्टी हेरेर बजेट व्यवस्था गर्दा आफ्नो पार्टीबाट स्याबासी त पाइन्छ होला तर त्यसले जनतामा नकारात्मक सन्देश जान्छ र जनताले त्यसलाई स्वीकार गर्ने अवस्था रहँदैन ।’
मुख्यमन्त्री कडेलले बजेट विनियोजन गर्ने तरिका केन्द्रदेखि नै आलोचनामुक्त नभएको बताउँदै संंघदेखि सबै तहका सरकारले बजेट विनियोजन गर्ने तरिकाबारे गम्भीरतापूर्वक सोच्नुपर्ने पनि बताए ।
प्रदेश सरकारले थोरै भए पनि कर्णालीका ७ सय १८ वटै वडामा बजेट पठाउने व्यवस्था गरेको बताउँर्दै उनले बजेट पठाउने विगतको केन्द्रिकृत अभ्यासलाई परिवर्तन गरी वडाको सिफारिसलाई नै आधार मानेर विनियोजन गर्ने मापदण्ड लागू गरिएको जानकारी दिए ।
कार्यक्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमको तयारी स्वरुप सातै प्रदेशमा यस्तो खालको कार्यक्रम गरिएको जानकारी दिए । दुई दिनसम्म चल्ने उक्त अभिमुखीकरण कार्यक्रममा सोह्रौ योजना, सरकारको नीति तथा कार्यक्रमबारे कर्णाली प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिहरुबीच छलफल हुनेछ ।