होमपेज / समाज
सुर्खेत । आईएनएफ सुर्खेत, साईनिङ अस्पतालमा गुर्भाकोटका अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचियर तथा अन्य सहायक सामग्री प्रदान गरिएकाे छ। आईएनएफ सुर्खेत, पहुँच तथा समावेशीकरण परियोजना र गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोगमा फाल्गुन ७ गते व्हीलचियर तथा अन्य सहायक सामग्री वितरणको पहिलो दिन शुभारम्भ गुर्भाकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक वाशुदेव शर्माले अपाङ्गता भएका व्यक्ति र समुदायसम्म असल सेवाभावले नगरपालिकासँग समेत समन्वय गरी आईएनएफ सुर्खेतले सेवा प्रवाहमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
सरकारले मात्र नागरिकका आवश्यकता पूरा गर्न नसक्ने बताउँदै संयोजक शर्माले आईएनएफले नगरपालिकामा पेश गरेको परियोजना प्रस्तावका आधारमा गुर्भाकोट नगरपालिकाले सहायक सामग्री निर्माणमा सहयोगी रु ४ लाख ५० हजारको एक सक्सन मेसिन खरिद गरी आगामी हप्ता आईएनएफ सुर्खेतलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो।

नगरपालिकाले आफनो स्रोत तथा आईएनएफ जस्तो विषय विज्ञता भएको संस्थाहरुलाई साथमा लिएर अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक, स्वास्थ्यका क्षेत्रमा सहजता ल्याउन नगरपालिका सधैँ साथमा रहेको बताउनु भयो। सहायता सामग्री वितरण गर्ने कार्यक्रमको सन्दर्भमा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, प्रदेश सांसद खड्क पाेखरेल, स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर घर्तीको उपस्थितिमा साईनिङ अस्पतालमा पठाइएका ६ जना अपाङ्गता भएका व्यक्तिहरु खगिसरा थापा, अमृता पुन, वीर बहादुर ओली, एन बहादुर मल्ल र मन्जित बुढा, राने रानालाई एक कार्यक्रमका बीच सामाजिक विकास समितिका संयोजक वाशुदेव शर्माले व्हीलचियर प्रदान गर्नुभयाे ।
पहुँच तथा समावेशीकरण परियोजनाका परियोजना अधिकृत लोकप्रसाद गौतमले अपाङ्गता भएका व्यक्ति वीरबहादुर ओलीलाई साइनिङ अस्पताल आइएनएफ सुर्खेतमा भर्ना गरी पुनर्स्थापना सेवा प्रदान गरेको जानकारी दिनुभयो।
आईएनएफ सुर्खेतले अपाङ्गता पहिचान शिविर, मेहलकुना अस्पतालमा आईएनएफ लेप्रोसी इन्चार्ज उदय नाथ योगीको अगुवाइमा स्क्रिनिङ्ग क्याम्प, प्रोथेसिस अर्थोसिस प्राबिधिक आमबहादुर घर्तीको अगुवाईमा कृतिम अंग आवश्यक पर्ने व्यक्तिको पहिचान र नापजंच शिबिर, व्हीलचियर एसेम्बलर नरेन्द्र बहादुर रानाको अगुवाई व्हीलचियर मर्मत कार्यको सेवा गुर्भाकोटमा प्रदान गर्नुभयाे ।
हाल १३ जनालाई व्हीलचियर, ३७ जनालाई अन्य सहायक सामग्री सेवा प्रदान गर्ने परियोजना अधिकृत लोकप्रसाद गौतमले बताउनुका साथै गुर्भाकोट नगरपालिकाको नीति तथा कार्यक्रम, कार्यपालिकाको बैठक समेतबाट पहुँच तथा समावेशीकरण परियोजनामा लागत सहभागिता गर्ने निर्णयले आईएनएफलाई कार्यमा उत्प्रेरणा, लाभग्राहीको संख्यामा वृद्धि, उत्कृष्ट सेवा प्रवाहमा सहजता भएको परियोजना अधिकृत लोकप्रसाद गौतम उल्लेख गर्नुभयो ।

नेपालका गरिब र पिछडिएका जनता र समुदायका लागि आफ्नो पूर्णतामा जीवन भन्ने परिकल्पनाका साथ आइएनएफले १९५२ देखि नेपालमा कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएका मानिसहरूलाई मद्दत गर्ने; केही दुर्गम र गरिब समुदायहरूमा विकासलाई सहज बनाउँछ साथै मेडिकल आउटरिच कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ।
"अपांगता भएका व्यक्तिहरुको लागि आर्थिक सुधार, पहुँच तथा समावेशीकरण" परियोजना सुर्खेतका ४ पालिकाहरु वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँ पालिकामा जुलाई २०२२ देखि २०२५ सेप्टेम्बरसम्मका लागि संचालित रहेकाे छ।