होमपेज / समाज
सुर्खेत । ‘कर्णाली उत्सव : कुडा कर्णाली’का छैटौं संस्करण अन्तर्गत उच्च शिक्षा, अनुसन्धान र विकासका विषयमा बहस भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. धु्रवकुमार गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र नेपाल खुला विश्वविद्यालयका प्रा.डा. शिलु मानन्धर बज्राचार्य उक्त बहसमा सहभागी थिए । उपकुलपतित्रयसँग संवाद गरेका थिए, पत्रकार तुला अधिकारीले ।
सहजकर्ताले संवादको सुरुवातमै सोधे–हामीले के पढ्यौं, के पढायौं ? उपकुलपति प्रा.डा. गौतमले मध्यपश्चिम विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमको फेहरिस्त सुनाए । उनका अनुसार मध्यपश्चिम विश्वविद्यालयले पिएचडी कार्यक्रम, कृषि क्याम्पस, बाली विज्ञान, इन्जिनियरिङ, हाइड्रो र आइसिटीका कार्यक्रम सञ्चालन गरेको छ । कानुनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ल क्याम्पस सञ्चालनमा छ । नीति निर्माण तहमा सहयोग गर्न नीति ल्याब खोलिएको छ । परम्परागत ज्ञान, सीपको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि कर्णाली ज्ञान केन्द्र सञ्चालनमा छ । ‘विद्यार्थीहरुलाई रोजगारीमा जोड्ने खालको शिक्षा दिनुपर्छ, अहिले पनि हाम्रा विद्यार्थीहरु अब्बल बन्दै गएका छन्, प्रा.डा. गौतमले भने, ‘अर्को अर्थमा भन्ने हो भने विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थीहरु हामी उत्पादन गरिरहेका छौँ, कर्णालीका विद्यार्थीलाई अवसरै अवसर छन् ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जुम्ला जस्तो ग्रामिण र विकट क्षेत्रमा मेडिकल शिक्षाको पढाइ विश्वमै बिरलै हुने बताए । प्रतिष्ठानलाई औपचारिक मेडिकल शिक्षामा मात्र सीमित नगरी स्वास्थ्य प्राविधिक क्षेत्रमा अनुसन्धान र ज्ञान हस्तान्तरणसम्बन्धी कार्यक्रम सञ्चालनको योजना बनाएको उनको भनाई थियो । ‘कर्णाली क्षेत्र हाई भ्याल्यु मेडिसिन प्लान्ट मानिन्छ, दुःखको कुरा यहाँको जडीबुटी कौडीको भाउमा निर्यात भई महंगो औषधि भएर छिर्छ, उनले भने, ‘अब हामीले कर्णालीको जडीबुटीको कर्णालीमै अनुसन्धान, प्रशोधन गरी औषधि कारखाना खोल्न सक्नुपर्छ ।’ उनले यसका लागि स्कुल अफ फार्मेसी, हाइ भ्याल्यु मेडिसिन रिसर्च सेन्टर खोल्ने कार्ययोजना सुनाए ।
नेपालमा चिकित्सा शिक्षा पढाइ हुने पर्याप्त कलेज भए पनि सीमित कोटाका कारण विद्यार्थीहरु विदेश गइरहेको उनले बताए । डा. रावलले भने, ‘चिकित्सा क्षेत्र ठूलो डिस्कोर्समा छ, धेरै विद्यार्थीहरु ठूलो पैसा खर्च गरेर बाहिर गएका छन्, नेपालका मेडिकल कलेजले पठाउन सक्छन् तर कोटा छैनन्, पढाइको अवसर नेपाली विद्यार्थीले पाउन् । बरु रोजगारीका लागि विश्वका जुनसुकै कुना जान सकून् ।’
नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर बज्राचार्यले सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने बताइन् । ‘कुनै पनि विद्यार्थी दीक्षित भइसकेपछि सम्बन्धित विषयमा सीप, ज्ञानले दक्ष हुनुप¥यो, तबमात्र बजारमा रोजगारी पाउने सम्भावना रहन्छ,’ उनले भनिन्, ‘सकारात्मक सोच राखेर शिक्षाका कार्यक्रम विकासमा जोड दिनुपर्छ ।’ कर्णालीका विद्यार्थीका लागि उच्च शिक्षाको प्रयाप्त अवसर रहेको उनले बताइन् ।
नेपालका विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा आलोचित छन् नि ? भन्ने सहजकर्ताको प्रश्नमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति गौतमको जवाफ थियो– ‘विश्वविद्यालयले पढाउने हो, सीप ज्ञान दिने हो, जागिरको ग्यारेन्टी दिन सक्दैन, जागिर बजारले दिने हो, बजारमा प्रतिस्पर्धी बन्ने हो, राज्यले रोजगारीका अवसर सिर्जना गर्ने हो ।’