होमपेज / समाज
काठमाडाैं । मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेस डीन कार्यालयको आयोजनामा एमआइसिडि ललितपुरमा एम. फिल. लिडिङ टु पि.एच.डी. कार्यक्रम सञ्चालनको लागि विषय विज्ञहरुद्धारा तयार पारिएको प्रथम सेमेष्टरको विभिन्न विषयहरुको पाठ्यक्रम प्रबोधीकरण एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
डीन सह प्रा. डा. लीलाधर तिवारीज्यूको अध्यक्षता र सहजीकरणमा पाठ्यक्रम निर्माणकर्ताहरु प्रा. डा. विनोद पोख्रेल, प्रा. डा. योगेन्द्र बहादुर गुरुङ, प्रा. डा. सृजनलाल श्रेष्ठ, सह प्रा. डा. टिकाराम गौतमले आ-आफूले निमार्ण गरेको पाठ्यक्रमलाई प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विषयका विषयविज्ञहरुद्वारा पाठ्यक्रम माथि महत्वपूर्ण सुझावहरु दिइएको थियो ।
प्रबोधीकरण कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. पद्मलाल देवकोटा, सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. अम्मराज जोशी, त्रिभूवन विश्वविद्यालय मानविकी संकायका पूर्व डीन प्रा. डा. कुशुम शाक्य, प्रा. डा. बासुदेव काफ्ले, प्रा. डा. यूवराज लुइटेल, प्रा. डा. दीपबहादुर अधिकारीले पाठ्यक्रममाथि टिप्पणी सहित विभिन्न रचनात्मक सुझावहरु दिनु भएको थियो ।
उक्त कार्यक्रममा एमआइसिडिका कार्यक्रम निर्देशक उपप्रा. कमलेश डि.सी.को समेत उपस्थिति थियो भने कार्यक्रम सञ्चालन लक्ष्मीप्रसाद बास्तोलाले गर्नु भएको थियो ।