होमपेज / समाज
दैलेख । स्वास्थ्य प्रणाली सुधार गर्न दैलेखमा पाँच वटा स्थानीय तहमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । केयर नेपाल, म्याप ईन्टरनेशलनको आर्थिक सहयोग र एभरेस्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित पोषण परियोजनाले दैलेखका पाँच वटा स्थानीय तहका सोह्र वटा स्वास्थ्य संस्थालाई एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
सेवाग्राहीलाई स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरिएको एभरेस्ट क्लब दैलेख मार्फत सञ्चालित पोषण परियोजनाका जेसी अधिकृत रामबहादुर विकले बताए । नागरिकलाई छिटो छरितो सेवा दिनका लागि पोषण परियोजनाअन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनले बताए ।
परियोजनाको सहयोगमा स्वास्थ्य सामग्री पाउनेमा गुराँस गाउँपालिका–१ मा रहेको सेप्टी आधारभूत स्वास्थ्य केन्द्र, सोही गाउँपालिका–२ रहेको पुरैनी आधारभूत स्वास्थ्य केन्द्र, लालीकाडाँ स्वास्थ्य केन्द्र र धरमपोखरा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् ।
यस्तै, डुङ्गेश्वर गाउँपालिका–५मा रहेको डाडाँपराजुल स्वास्थ्य चौकी, सोही गाउँपालिका–३ मा पर्ने अवलपराजुल आधारभूत स्वास्थ्य केन्द्र र लाँकुरी स्वास्थ्य चौकी रहेका छन् । भगवतिमाई गाउँपालिका–२ मा रहेको जगन्नाथ आधारभूत स्वास्थ्य केन्द्र र रुम स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जेसी अधिकृत विकले बताए ।
यसैगरी, ठाटिँकाँध गाउँपालिका–५ तोलिजैसी स्वास्थ्य चौकी, सोही गाउँपालिकामा रहेको प्याडुली आधारभूत स्वास्थ्य केन्द्र, गैरागाउँ स्वास्थ्य केन्द्र र लकान्द्र आधारभूत अस्पतालले स्वास्थ्य सामग्री पाएका हुन् । आठबीस नगरपालिका–४ मा रहेको राकम आधारभूत अस्पताल, सिँगौडी आधारभूत स्वास्थ्य सेवा केन्द्र, सात्ताला स्वास्थ्य चौकी र जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य संस्थामा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागी एक करोड बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो ।
मङ्गलबार परियोजनाद्वारा उपलब्ध गराइएका स्वास्थ्य सामग्री बुझ्दै भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश थापाले उपलब्ध सामग्रीले सेवाग्राहीलाई सेवाको पहुँचमा ल्याउन सहयोग पुग्ने बताए। हस्तान्तरण कार्यक्रममा एभरेस्ट क्लब दैलेखका सचिव तथा पोषण परियोजनाका फोकल पर्सन कृष्ण केसीले परियोजनाले सोह्र वटा स्वास्थ्य संस्थाको आवश्यकता लेखा जोखा गरी आवश्यकताका आधारमा सामग्री वितरण गरिएको बताए ।
उनले वितरण गरिएका सामग्रीको दिगोपनासँगै संरक्षण स्थानीय तह र सम्बन्धित स्वास्थ्य संस्थाले गर्नु पर्नेमा जोड दिए । एभरेस्ट क्लब मार्फत सञ्चालित पोषण परियोजनाले यहाँका पाँच वटा स्थानीय तहमा कुपोषण घटाउने उद्देश्यले काम गर्दै आएको छ ।