होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले कर्णाली प्रदेशमा क्रियाशील राजनीतिक दलहरुका बीच अन्तरक्रिया कार्यक्रम आइतबार वीरेन्द्रनगर सुर्खेतस्थित विश्वविद्यालयकाे केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ ।
विश्वविद्यालयलाई प्रत्यक्ष रुपमा समाजसँग जोड्ने र आवश्यक पृष्ठपोषण लिई आगामी दिनमा अघि बढ्ने रणनीतिक उद्देश्यका साथ सरोकारवालाहरुसँग चरणबद्ध छलफल गर्ने योजना अनुरुप आज सुर्खेत सहित कर्णाली प्रदेशमा स्थापित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको समुपस्थितिमा विश्वविद्यालयले कार्यक्रमको शुभारम्भ स्वरुप दलहरुका बीच सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
.jpg)
कार्यक्रममा उपस्थित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, राजमो, नेमकिपा, राप्रपा नेपाल, नेकपा, नेकपा बहुमत लगायतका पार्टी नेताहरुले कर्णालीको शैक्षिक धरोहरका रुपमा रहेको मध्यपश्चिम विश्वविद्यालयलाई स्थापनाको उद्देश्य अनुरुप शैक्षिक गुणस्तर अभिवृद्धिका निम्ति द्रुततर गतिमा अघि बढाउन विश्वविद्यालयलाई बन्द, हड्ताल मुक्त गर्ने साझा प्रतिबद्धता ब्यक्त गर्नुभयो । सबै दलबाट प्रतिनिधित्व गर्ने शीर्ष नेताहरुले कर्णालीमा अवस्थित विश्वविद्यालय भएकाले पनि समग्र कर्णाली प्रदेशको समृद्धि एवम् जीवन्त संस्कृतिसँग जोड्ने गरी कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
.jpg)
कार्यक्रमको अध्यक्षता गर्नुभएका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले ऐन, कानूनको परिधिभित्र रही समन्वय, सहकार्यको संस्कृति अनुरुप सबै सरोकारवाला पक्षलाई अपनत्वबोध हुने गरी विश्वविद्यालयका शैक्षिक प्रशासनिक गतिविधि अघि बढाउने बताउनुभयो । उपकुलपति प्रा.डा. गौतमज्यूले राजनीतिक दल सहित सबै सरोकारवालाका रचनात्मक सुझावलाई सदैव स्वागत गरिने बताउनुभयो ।
रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले स्वागत मन्तब्यको क्रममा विश्वविद्यालय सबैको साझा सम्पत्ति भएकाले हाम्रो अर्जुनदृष्टि एवम् प्रयास सर्वोपरी हितमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो । अन्तरक्रियात्मक कार्यक्रमको विषयवस्तुवारे उपप्राध्यापक डा. यदुप्रसाद ज्ञवालीले छोटो प्रस्तुति र उपप्राध्यापक तेजबिक्रम बस्नेतले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन उपप्राध्यापक डा. विष्णुकुमार खड्काले गर्नुभएको थियो ।