होमपेज / समाज
सुर्खेत । दक्षिण कोरियाको छाङवोन नेशनल युनिभर्सिटी अन्तर्गतको लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन LUPIC द्वारा आयोजित ‘त्रिभुवन विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विशेष शिक्षा विभागको विकास र दिगोपन’ विषयक सेमिनार सम्पन्न भएको छ । यस कार्यक्रममा नेपालका विभिन्न विश्वविद्यालय र संस्थाका प्रमुख तथा प्रतिनिधिहरू विशेष आवश्यकता शिक्षा प्रवर्द्धनका विषयमा छलफल गर्न भेला भएका हुन् ।
सेमिनारको उद्घाटन सत्रमा LUPICका निर्देशक प्रा.डा. जंग डाएयोङले LUPIC परियोजनाको दिगोपन तथा नेपालमा विशेष शिक्षा प्रवद्र्धनमा यसले पुर्याएको योगदानबारे प्रकाश पार्नुभएको थियो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका प्रतिनिधिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत नेपालका समावेशी शिक्षा नीतिहरू र विशेष आवश्यकतायुक्त विद्यार्थीहरूका लागि थप सहयोगको आवश्यकता र पहल बारे जानकारी दिनुभएको थियो ।

मध्यपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पुर्वाञ्चल विश्वविद्यालयका प्रतिनिधिहरूले विशेष आवश्यकता शिक्षा कार्यक्रमको वर्तमान अवस्था, पाठ्यक्रम विकास, र सुधारका योजनाहरू विषयमा आफ्ना दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।
मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पन्चदेव भट्टले विश्वविद्यालय र विभागको संक्षिप्त परिचय दिँदै मध्यपश्चिम विश्वविद्यालयको विशेष आवश्यकता शिक्षा सम्बन्धी पहल, विद्यार्थी तथा संकायको अवस्था, पाठ्यक्रम विकासको प्रगति, सूचना प्रविधि तालिमलगायतका गतिविधि बारे प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रियात्मक छलफल सहित विभिन्न चरणमा संचालित उक्त सेमिनारको समापन सत्रमा LUPIC परियोजनाका प्रोजेक्ट म्यानेजर किम यूनयोङले अन्तर–विश्वविद्यालय सहकार्य, नीतिगत सुधार, र विशेष आवश्यकता शिक्षा क्षेत्रको दिगो विकासको आवश्यकतामा जोड दिनुभएको थियो ।
यो सेमिनारले कार्यक्रमको दिगोपन, नीतिगत सिफारिसहरू, र शैक्षिक सहकार्यका लागि थप सहयोग पुग्ने विश्वास गरिएको छ । LUPIC परियोजनाले मध्यपश्चिम विश्वविद्यालयमा विशेष आवश्यकतायुक्त शिक्षा कार्यक्रम सञ्चालन गर्न प्राविधिक सहयोग पुर्याइरहेको छ, जसले समावेशी शिक्षाको प्रवद्र्धनप्रति विश्वविद्यालयको प्रतिवद्धतालाई थप मजबुत बनाएको बताइएको छ ।