होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हिजोको इतिहास जोगाउँदै वर्तमान परिवर्तनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पेशागत महासंघ नेपालसँग आवद्ध निजामती कर्मचारीहरूको राष्ट्रियस्तरको पहिलो ट्रेड युनियन कर्णाली प्रदेश कार्यसमितिको दोस्रो अधिवेशनलाई सम्वोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्मचारीहरूलाई अब देशको अवस्था बदल्ने काममा लाग्न सुझाव दिएका हुन् ।
हिजो सडक आन्दोलन गर्नुपर्ने अवस्था थियो, तर आज त्यो आन्दोलनको प्रभावकारिता देखाउने समय हो, मुख्यमन्त्री कँडेलले भने, ‘अब कर्मचारीहरूले आफ्नो अवस्थाको मात्र सोच्ने होइन, देशको अवस्था बदल्ने कार्यमा सक्रिय भूमिका निभाउनुपर्छ ।’
उनले सुशासन, दिगो विकास, सरकारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा जनताप्रति उत्तरदायी सेवा प्रवाहका लागि निजामती कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी प्रभावकारी कामको थालनी गर्नुभएको छ, त्यसैअनुरूप नेपाल निजामती कर्मचारी संगठनले अझ प्रभावकारी काम गर्नुपर्छ,’ उनले भने ।
मुख्यमन्त्री कँडेलले अब मौन रहने समय नभएको उल्लेख गर्दै प्रभावकारी काममार्फत जनताका बीचमा सकारात्मक सन्देश दिनुपर्ने आवश्यकता रहेको बताए ।
हिजोका मतदाताले आज पनि समर्थन गर्छन् भन्ने भ्रम त्यागेर अब परिणाममुखी काम गर्नुपर्छ, उनले भने, ‘जनताले प्रत्यक्ष महसुश गर्ने गरी भएका कामलाई व्यापक रूपमा जनसमक्ष पु¥याउन सबै पक्ष क्रियाशील हुनुपर्छ ।’