होमपेज / समाज
सुर्खेत । नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवद्र्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यसरी हस्ताक्षर गर्ने विश्वविद्यालयहरुमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालय रहेका छन् । विश्वविद्यालयहरु बीच भएको सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरू मार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको छ ।
सम्झौता अनुसार विश्वविद्यालयहरू पोस्ट ग्य्राजुएट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य गर्नेछन् । साथै, संयुक्तरूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजनाहरू आयोजना गर्नुका साथै शैक्षिक स्रोत र प्रकाशनहरू आदानप्रदान गर्नेछन् ।
सम्झौता पत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

साथै पाँचै विश्वविद्यालयका रजिष्ट्रारहरू सम्झौताको साक्षीका रूपमा सहभागी भएका थिए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रा.डा. यज्ञराज पाठक, मध्यपश्चिम विश्वविद्यालयका प्रा.डा. शोभाखर कँडेल, नेपाल खुला विश्वविद्यालयका प्रा.डा. गोविन्द सिंह बिष्ट, पुर्वाञ्चल विश्वविद्यालयका नीलमणि पोखरेल र लुम्बिनी प्राविधिक विश्वविद्यालयका रेजबहादुर भण्डारी सम्झौता कार्यक्रममा सहभागी हुँदै यस सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
सुरुवाती सम्झौता अवधि पाँच वर्षको रहेको छ भने प्रत्येक पाँच वर्षमा स्वतः नवीकरण हुने प्रावधान उल्लेख गरिएको छ । यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा छ महिनाअघि सूचना दिनुपर्नेछ ।
विश्वविद्यालय पदाधिकारीका अनुसार यस साझेदारीले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्नेछ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहकार्यलाई प्रवद्र्धन गर्नेछ भने विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको छ ।
सम्झौता सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको थियो ।