होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा लेखिएका सबै मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक रहेको बताएका छन् । आज सुर्खेतमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेशको चौथो अधिवेशनको उद्घाटन गर्दै नेपालको संविधानमा धेरै राम्रो र जनताको प्रतिनिधित्व गर्ने कुराहरू लेखिएको भए पनि अहिलेको देशको आर्थिक अवस्थाले गर्दा सबै कुराहरु पूरा गर्ने अवस्थामा सरकार नरहेको मुख्यमन्त्री कँडेलको भनाई थियो ।

सरकारलाई संविधानमा लेखिएका सबै मौलिक हक पूरा गर्ने अवस्थामा पुर्याउन समय लाग्ने भएकाले त्यसतर्फ सरकार लागिरहेकाे मुख्यमन्त्री कडेलले बताए । देश हामी सबैको भएकाले सबै मिलेर देशको आर्थिक अवस्था सुधार गर्ने र देशमा नै रोजगारीको सिर्जना गर्ने काममा लाग्नु पर्ने दायित्व हामी सबैको भएको मुख्यमन्त्री कँडेलको भनाई थियो ।

देशको विकास सरकारले एक्लैले भन्दा पनि निजी क्षेत्र सहित सबै मिलेर गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कँडेलले प्रदेश सरकार जिम्मेवारीका साथ शिक्षा क्षेत्रको विकासमा लागेकाले निजी क्षेत्रले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकारात्मक भुमिका खेल्नुपर्नेमा जाेड दिनुभयाे।
कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रीय अध्यक्षसहित शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
