होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्नुपर्ने बताए । आज सुर्खेतमा जनतासँग मुख्यमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पहिला कम स्रोत र साधनले धेरै विकास हुने गरेको भए पनि अहिले पहिलाको तुलनामा धेरै स्रोत र साधन प्रयोग हुँदा पनि कम विकास हुने गरेको उल्लेख गरे ।
पहिले जनतामा सेवाको भावना थियो त्यसैले उपलब्ध स्रोतको सही रुपमा विकास निर्माण गर्ने काममा प्रयोग हुने गर्दथ्याे तर अहिले व्यवसायको रुपमा योजनालाई लिने गरेको हुँदा त्यसलाई सच्याउने र योजना भनेकाे जनताले सेवा लिने हो भन्ने कुरा बझाउने काममा प्रदेश सरकार लागेको मुख्यमन्त्री कँडेलले बताए ।

जनताको घरदैलोमा गएर समस्या बुझ्ने र सरकारले नीति बनाउने त्यसको आधारमा बजेटको व्यवस्था मिलाउने काममा प्रदेश सरकार लागेको मुख्यमन्त्री कँडेलको भनाइ थियो । जनताले कामका आधारमा नै मूल्याङ्कन गर्ने भएकाले काम गरेर देखाउने बाटोमा प्रदेश सरकार हिंडेको कँडेलले बताए ।
जनतासमक्ष प्रत्यक्ष भेटघाट गरेर जनताका गुनासो सुन्ने र जनताको भावना अनुसार समस्याहरूको समाधान गर्ने योजनाका साथ प्रदेश सरकार जनतासँग जोडिन जनताको घर दैलाेमा पुगेको मुख्यमन्त्री कँडेलकाे भनाइ थियाे । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख मोहनमाया ढकाल, स्थानीय नेता तथा जनताको सहभागिता रहेको थियो ।