होमपेज / समाज
सुर्खेत । कुनै समय मानविकी संकायमा विद्यार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो । समय परिवर्तन भएसँगै मानविकी संकायको तुलनामा अन्य संकायमा विद्यार्थीको संख्या बढ्दै गयो । तर पछिल्लो समय फेरि मानविकी संकायमा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । यसको पछिल्लो उदाहरण हो, मध्यपश्चिम विश्वविद्याललयको ग्य्राजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेस स्नातकोत्तर तह पहिलो सेमेष्टरको प्रवेश परीक्षामा सहभागी विद्यार्थीको आकर्षण । ग्य्राजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेस स्नातकोत्तर तह पहिलो सेमेष्टरको आज माघ १५ गते भएको प्रवेश परीक्षामा दुई सय भन्दा बढी विद्यार्थीले परीक्षामा सहभागिता जनाए । यो संख्या अझै बढ्न सक्ने क्याम्पस प्रशासनले जनाएको छ ।
ग्य्राजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका डिन लिलाधर तिवारीले मानवता, समाज र आफ्नो देशको संस्कृति बुझ्नका लागि विद्यार्थीहरु फेरि मानविकी संकायतर्फ आकर्षित भइरहेको बताउनुभयो । साथै उहाँले मानव समाज र संस्कृति नबुझेसम्म विद्यार्थीले जीवन र जगत बुझ्न नसक्ने हुँदा यस संकायतर्फ विद्यार्थीको आकर्षण विस्तारै बढ्दै जाने पनि बताउनुभयो ।

ग्य्राजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेस समाजशास्त्र र मानवशास्त्र विभागका विभागीय प्रमुख वेदप्रकाश ढकालले मानविकी संकायले समग्र मानव र समाजको बारेमा बुझ्ने र बुझाउने भएकाले विद्यार्थीले यसका बारेमा बुझ्न जरुरी भएको बताउनुभयाे । हामीले उत्पादन गरेका विद्यार्थीहरुले समाज र परिवेश बुझेकाले देशको राजनीतिक रुपमा समेत देशको नेतृत्व गर्ने जनशक्ति ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसबाट भइरहेको हुँदा विद्यार्थीको आकर्षण यसतर्फ बढेको हुनसक्ने बताउनुभयो ।
यसैगरी सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार विभागका विभागीय प्रमुख खगेन्द्र अधिकारीले विद्यार्थीका रुचिका विषय र समसामयिक विषयहरु ग्य्राजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसमा भएकाले विद्यार्थीहरु यसतर्फ आकर्षित भइरहेको बताउनुभयाे । उहाँले विभिन्न संघसंस्थाका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन पनि ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसमा भएकाले विद्यार्थीहरु यसतर्फ आकर्षित भइरहेको हुनसक्ने प्रमुख अधिकारीले बताउनुभयो ।
ग्य्राजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसमा अहिले समाजशास्त्र, मानवशास्त्र, सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार, द्वन्द्व र शान्ति, अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति, विकास अर्थशास्त्र, अग्रेजी, नेपाली, ग्रामिण विकासलगायतका विषयहरु अध्यापन भइरहेका छन् ।