होमपेज / समाज
झापा । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले स्वाभिमानी र राष्ट्रवादीहरु विरुद्ध आक्रमण गरेर राष्ट्रियता कमजोर बनाउने खेल भइरहेको बताएका छन् । र, ती तत्वहरूले सामाजिक सञ्जाल प्रयोग गरेको पनि बस्नेतले उल्लेख गरेका छन् ।
देशभर प्रेस चौतारीका जिल्ला शाखाहरुको अधिवेशन सुरु भएको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट देशदौडाहामा निस्केका अध्यक्ष बस्नेतले अधिवेशनमा सम्बोधन गर्दै विदेशी एजेण्टहरु सल्बलाइरहेको उल्लेख गरे ।
देशभक्तका विरुद्ध भइरहेको घेराबन्दी चिर्न प्रेस चौतारी नेपाल आबद्ध पत्रकार सशक्त रूपमा उत्रिनु पर्नेमा जोड दिँदै उनले थपे – ‘स्वाभिमानको लडाईं सजिलो छैन, जति लडाईं केपी ओलीले लड्नुभो, त्यसको परिणाम उहाँले भोग्दै हुनुहुन्छ । आज नेकपा एमाले र केपी ओलीमाथि किन आक्रमण भयो ? त्यो हामीले बुझ्नुपर्छ ।’
.jpg)
अध्यक्ष बस्नेले थपे – ‘राष्ट्रियता झण्डा बुलन्द गरेवापत आक्रमण भएको छ । नेपालको संविधान नेपालीको हितमा बनाउँदा नेपाल बन्छ, बनाउनुपर्छ भन्दा आक्रमण भएको छ । विदेशी एजेण्टका खेती मौलाएको छ । यो लडाईं सामाजिक सञ्जालमार्फत् सुरु भएको छ । स्वाभिमानी नेपालीले बुझ्नुपर्छ, यो सामाजिक सञ्जालको आक्रमण केपी ओली माथिको आक्रमण होइन, नेपालीमाथि भएको आक्रमण हो । यो लडाईंलाई परास्त गर्नुपर्छ, प्रेस चौतारीका सदस्यहरुले सामाजिक सञ्जालमा लडौं तर सभ्य रुपमा हामी लड्नुपर्छ ।’
प्रधानमन्त्री ओली समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा अघि सारेर रोडम्यापमा राष्ट्र अघि बढाइरहँदा हामीले रक्षाकवच बनेर उभिनुपर्नेमा जोड दिए । ‘झापामा हरेक खेती केपी ओलीको नाममा हुन्छ । प्रेस चौतारी मात्र यस्तो संगठन हो, जसले केपी ओलीको नाममा कुनै दुरुपयोग, बदनाम गर्दैन ।’ उनले भने ।
अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारहरूको गौरवमय इतिहास बोकेको संगठन भएको पनि बताए । बस्नेतले प्रेस चौतारी नेपाललाई एकताबद्ध बनाउन सबैले योगदान गर्नुपर्ने धारणा राखे । संगठनलाई घात नगरी काम गर्दा अवसर प्राप्त हुने भन्दै उनले देशैभर सर्वसहमतिमा नेतृत्व चयन हुने बताए ।
संगठनमा अराजकता स्वीकार्य छैन भन्दै उनले संगठनलाई घात गर्नेहरुलाई कुनै छुट नभएको बताए । प्रेस यूनियनसँगको सहकार्य लामो समयसम्म जाने पनि उनले बताए ।