ट्रेण्डिङ

होमपेज / समाज

अस्ट्रेलियाका महामहिम राजदूत लिआन जोनस्टनद्वारा मध्यपश्चिम विश्वविद्यालयको भ्रमण

नेपालगाथा २०८१ माघ ८ गते मंगलबार २१:५९:५४ मा प्रकाशित

सुर्खेत । अस्ट्रेलियाका राजदूत लिआन जोनस्टनले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरी उच्च शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल र अस्ट्रेलियाबीचको शैक्षिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर बनेको छ।

उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले दुइ देश बीच विद्यमान सम्बन्ध र सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा मध्यपश्चिम विश्वविद्यालय र अस्ट्रेलियाली विश्वविद्यालयहरूबीच थप शैक्षिक साझेदारी विस्तारको आवश्यकता औंल्याउँदै अनुसन्धान र आदानप्रदान कार्यक्रममा थप सहकार्यका लागि आग्रह गर्नुभभयाे ।

राजदूत लिआन जोनस्टनले अस्ट्रेलिया र नेपालबीचको दीर्घकालीन सम्बन्ध र सहकार्यलाई प्रकाश पार्दै शिक्षा, शासन र सांस्कृतिक आदानप्रदानमा आपसी सहकार्य सम्बन्धी चर्चा गर्नुभएको थियो । उहाँले यो भ्रमण र कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइका संयोजक उप-प्राध्यापक कल्पना पौडेलले विश्वविद्यालयको संक्षिप्त विवरण, शैक्षिक उपलब्धि, हालका पहल र भावी कार्यक्रमहरूको प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रममा सेवा आयोगका अध्यक्ष तथा सदस्यहरू, विभिन्न ग्र्याजुएट स्कुलका डीनहरू, कार्यकारी निर्देशकहरु, विभागीय प्रमुख एवं संयोजकहरू, अस्ट्रेलियन राजदुतावासका प्रतिनिधि, प्राध्यापक तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन रजिष्ट्रार सचिवालयका सदस्य एवं उप-प्राध्यापक डा. यदु ज्ञवालीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top