ट्रेण्डिङ

होमपेज / समाज

जिम्मेवारीमा रहेको बेला निर्भिकतापूर्वक काम गर्नुपर्छ - मुख्यमन्त्री कडेल

नेपालगाथा २०८१ माघ ८ गते मंगलबार १९:००:४८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जिम्मेवारीमा रहँदा निर्भिकतापूर्वक काम गर्ने बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा अष्ट्रेलीयन सरकार र द एशीया फाउन्डेसनको स्थानीय सरकार सवलीकरण कार्यक्रमको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा मुख्यमन्त्री कडेलले यस्तो बताउनुभएको हो । 

कर्णाली प्रदेश सरकारले कुनै व्यक्तिका आकांक्षा र चाहना पूरा गर्न नसके पनि समग्रमा आम जनताको चाहना अनुसारको काम गरेको हुदाँ आफूले जिम्मेवारी पाएको समयमा निर्भिकतापूर्वक जनताको काम गर्ने मुख्यमन्त्री कडेलको भनाई थियो ।
सुशासनको कुरा गर्दा सबैले साथ दिने तर कार्यान्वयन गर्दा हराउने तर नडगमगाई अघि बढ्यो भने सबैले समर्थन गर्ने परिस्थिति आउने मुख्यमन्त्री कडेलको भनाई थियो । 

कर्णालीको प्रमुख समस्या भनेको सुशासनको हो, स्रोत र साधनको सही प्रयोग गरेर योजना छनोटलाई पारदर्शी बनाउनुका साथै आवश्यकताको आधारमा योजना बनाउने कार्यमा कर्णाली प्रदेश सरकार लागेको मुख्यमन्त्री कडेलको दाबी थियो ।
सङ्घीय सरकारले कर्णाली प्रदेशका प्राथामिकता बुझेर बजेट दिनुपर्ने भए पनि त्यस्तो हुन सकेको छैन, हामीले बुझाउनुपर्छ । अबका दिनमा कर्णाली प्रदेशलाई विशेष व्यवस्था गरेर अगाडि बढ्नुपर्छ ।

कर्णाली प्रदेश सम्भावनाको खानी भएको प्रदेश भएकाले कर्णालीको विकासका लागि सङ्घीय सरकारले ध्यान दिनुपर्ने मुख्यमन्त्री कडेलको जोड थियो ।

उक्त कार्यक्रममा पूर्व मुख्यमन्त्रीद्वय राजकुमार शर्मा र जीवनबहादुर शाहीले तीनै तहका सरकारको समन्वय र सहकार्यमा संघीयतालाई सफल पार्नुपर्ने बताएका थिए । 

यसैगरी कार्यक्रमलाई सम्वोधन गर्दै नेपालका लागि अष्ट्रेलियाली राजदुत लीन जोन्सटनले निर्वाचित जनप्रतिनिधिले नागरिकका आकांक्षा पूरा गर्नका लागि विशेष जिम्मेवारी लिएको बताउँदै अष्ट्रेलियाली सरकारको साझेदारीमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रमले नेपालको संघीय संविधानको कार्यान्वयमा सहकार्य गरिररहेको बताउनुभयो । 

अन्तर नगरपालिकास्तरीय सिकाई आदान प्रदान कार्यक्रमको आयोजनाबाट स्थानीय सरकार बीचको समन्वय, सहकार्य प्रवद्र्धन र असल अभ्यास तथा सिकाई आदानप्रदानको लागि धेरै महत्वपूर्ण हुने कार्यक्रमका सहभागीले बताएका छन् । 
नेपालले संघीय संविधान कार्यान्वयनको दश वर्षको दौरानमा विभिन्न परिघटनाहरु व्यहोर्दै तथा जटिल संक्रमण पार गरिरहेको अवस्थामा  अन्तर नगरपालिकास्तरीय सिकाइ आदानप्रदान एक अनुकरणीय बनेको सहभागीहरुले बताएका थिए । 
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य एवम् प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का, प्रदेश सभा सदस्य सन्तोषी शाहीको सहभागिता रहेको थियो । 

यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष वालानन्द पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य गीता कुमारी पौड्याल अधिकारी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतम, कर्णाली प्रदेश योजना आयोग उपाध्यक्ष सूर्यनाथ योगीको समेत सहभागिता रहेको थियो । 

कार्यक्रममा अथिति दमक नगरपालिका, भिमेश्वर नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, तानसेन नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिकाको सहभागिता रहेको छ । यसैगरी सुर्खेत जिल्लाका भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र पन्चपुरी नगरपालिकाको पनि सहभागिता रहेको छ । 

यसैगरी सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, वराहताल गाउँपालिका, चौकुने गाउँपालिका र गुराँस गाउँपालिकाको पनि सहभागिता रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top