ट्रेण्डिङ

होमपेज / समाज

मुख्यमन्त्रीसँग द्वन्द्वपीडितको गुनासाे, भत्ता हटाइनु अपमानजनक

नेपालगाथा २०८१ माघ ३ गते बिहीबार १९:५९:१४ मा प्रकाशित

सुर्खेत । सशस्त्र द्वन्द्व, जनआन्दोलन र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएकाहरूले पाउँदै आएको भत्तामा भएको विभेद हटाउन विभिन्न अधिकारवादी संघ–संस्थाहरूले मुख्यमन्त्रीसँग माग गरेका छन् । प्रदेश सरकारले मंसिर २६ गते जारी गरेको घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधिमा सरकारी रोजगारीमा रहेका तथा सेवा निवृत्त भएकाहरूलाई जीवन निर्वाह भत्ता उपलब्ध नगराउने उल्लेख छ ।

उनीहरुले रोजगारीमा रही तलब भत्ता वा निवृत्तिभरण पाउने विषय र सशस्त्र द्वन्द्वका समयमा सहादत भएका, बेपत्ता र घाइते परिवारको विषय फरक भएकाले नियमित रोजगारीबाट पाउने पारिश्रमिक र निवृत्तिभरण द्वन्द्वपीडितहरुले पाउने सुविधासँग नजोड्न आग्रह गरेका छन् ।

अधिकारकर्मीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउँदै आएको सुविधालाई कटौती नगरी यथावत् पाउने गरी कार्यविधि परिमार्जन गर्न हामी अनुरोध गर्दछौ ।’

मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष ममता नगालले विगतका सरकारले दिँदै आएको जीवन निर्वाह भत्ता रोकिनु सशस्त्र द्वन्द्वका पीडित, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा पीडितहरूप्रतिको अपमान भएको बताइन् ।

‘यसअघिको सरकारले द्वन्द्वपीडित, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएकाहरूका लागि जीवन निर्वाह भत्ता सम्मान स्वरूप दिएको हो,’ उनले भनिन्, ‘त्यसलाई रोक्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’

मुख्यमन्त्री कँडेलले देशकै आर्थिक अवस्था सुदृढ नभएकाले कटौती गर्नु परेको बताए । ‘अवस्था सुदृढ हुँदा फैलिने र अवस्था सुदृढ नहुँदा खुम्चिने हुन्छ,’ उनले भने, ‘अहिलेको अवस्था सहज नभएकाले सरकारी सेवामा कार्यरत र सेवा निवृत्त भएकाहरूलाई दिइँदै आएको जीवन निर्वाह भत्ता हटाइएको हो ।’ उनले अधिकारवादी संस्था र व्यक्तिहरुले नै यस सम्बन्धी पुर्नविचार गर्न भनेकाले छलफल चलाउने बताए ।’ 

मानव अधिकारका लागि महिला एकल महिला समूह, द्वन्द्व पीडित राष्ट्रिय महिला सञ्जाल, सङ्क्रमणकालीन न्याय अनुगमन तथा निगरानी समिति, इन्सेक कर्णाली प्रदेश कार्यालय, मानव अधिकार रक्षक सञ्जाल, सहकर्मी समाज एड्भोकेसी फोरम, न्यायका लागि द्वन्द्वपीडित समाज, मानव अधिकारका महिला एकल महिला समूहलगायतले कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top