ट्रेण्डिङ

होमपेज / समाज

‘लौ नानी तिम्रो ब्याग’

रण बहादुर बुढा

नेपालगाथा २०८१ माघ १ गते मंगलबार २२:४१:२६ मा प्रकाशित

सुर्खेत । काम विशेषले म (रणबहादुर बुढा) र छोरी (सञ्जीवनी बुढा) जुम्ला जिल्ला तिला गाउँपालिका वडा नं. ५ कुडारीबाट यही पौष २८ गते सुर्खेत झरेका थियौं । सुर्खेत पुग्दा बेलुकाको करिब ७ बजिसकेको थियो । हामी हाम्रो सामान लिएर रेडियो नेपाल नजिकै गाडीबाट ओर्लियौं ।

त्यसपछि एउटा अटोलाई लिएर सबै सामान राखेर कोपिला भ्याली नजिकै रहेको कोठामा पुगेर ओर्लियौं र सामान पनि झार्यौं । तर हतारमा छोरीको ब्याग अटोमा नै छुटेको हामीलाई थाहा नै भएन । ब्याग छुटेको कुरा घरमा पुगेर सबै सामान हेरेपछि मात्र थाहा पायौं । त्यतिवेलासम्म त त्यो अटो कहाँ पुग्यो पुग्यो हामीलाई केही थाहा भएन ।

तर पनि घरवेटी भाइ निराजन खत्री मोटरसाइकलमा राती १० बजेतिर त्यो अटो पाइन्छ कि भन्ने झिना आशामा निस्किनुभयो । तर त्यो अटोको न त हामीसँग गाडी नम्बर थियो न त मोवाइल नम्बर नै । निराजन भाइले निकै खोज्नुभयो, सोधपुछ गर्नुभयो तर त्यो अटो कतै पनि पत्ता लाग्न सकेन । 

उक्त झोलामा नागरिकताको प्रमाणपत्र, लत्ताकपडासहित नगद ८००० रुपैयाँ पनि थियो । त्यो भन्दा महत्वपूर्ण भनेको यही माघ ५ गते विदेश जानका लागि टिकट पनि कन्फम भइसकेको थियो । झोला हराएपछि मनमा अनेक थरीका कुरा खेल्न थाले । यस्ता अनेकौ कुरासँगै रात कटेको पनि पत्तै भएन ।

हामीले अटो चालकले त्यो पैसा पाएपछि फिर्ता गर्दैन होला बरु लुकेर बस्नेहोला जस्ता वाइयात आशंका पनि गर्न भ्यायौं । यस्तै यस्तै गफ गर्दै थियौं दर्शन सर र म बिहानको ८ बजेको पनि पत्तै भएन । 

रातभरको हाम्रो छटपटी र अटो चालकमाथि गरिएको वाइयात शंका त्यतिवेला सबै झुट भयो बिहान करिब १० बजेतिर त्यो अटो झोलासहित घरमै आएर ‘लौ नानी तिम्रो व्याग’ भन्नुभयो । अटो चालक वीरेन्द्रनगर नगरपालिका वडा नं. २ बस्ने कर्ण बोगटी हुनुहुँदो रहेछ ।

उहाँ एक इमान्दार र सच्चा नागरिक भएको देखेपछि उहाँसँग केहीबेर कुराकानी पनि ग¥यौं । उहाँ त, नेपाली सैनिकको जागिरबाट अवकाश लिएर ९ वर्षदेखि अटो चलाइरहनुभएको रहेछ । नेपाली सैनिकमा उहाँले सिक्नुभएको इमान्दारिता उहाँसग अझै पनि उत्तिकै रहेछ । उहाँले यो तपाइहरुको मिहिनेतको फल हो, तपाइहरुले नै खानुपर्छ भन्नुभयाे। 'मैले मेरो मिहिनेतको फल तपाइहरुले हिजो नै भाडा दिइसक्नुभयो । त्यसैले यो सामान तपाइको महत्वपूर्ण होला भनेर म पुर्याउन आएको' भनेर हामीलाई सुनाउनुभयो ।

उहाँ साँच्चै धन्यवादको पात्र हुनुहुन्छ । उहाँले आफू मात्र होइन आफू जस्ता अटो चलाउने अरुलाई पनि यो पाठ सिकाउनुभएको छ । सायद उहाँले यो सामान फिर्ता नल्याइदिएको भए मरो छोरीको विदेश यात्रामा समस्या हुन पनि सक्थ्यो होला ।

यसले हाम्रो जीवनमा ठूलै झट्का लाग्न सक्थ्यो । त्यसैले बोगटीजीलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । मित्र तपाइ र तपाइको परिवारमा सधै खुसी मिलोस् । सेवा निवूत्त जीवनमा पनी नेपाली सेनाको लगनशीलता र इमान्दारिता देखाउन सफल हुनु भएकोमा मेरा मान्यजन देवता तथा देउती वज्यैले तपाइको रक्षा गरुन् । 

तिला – ५, कुडारी जुम्ला (९८५८३२०८३८) 

प्रतिक्रिया

सम्बन्धित खवर

Top