ट्रेण्डिङ

होमपेज / समाज

जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नुपर्छ - महासचिव पोखरेल

नेपालगाथा २०८१ पौष २८ गते आइतबार १७:४२:११ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नुपर्ने बताउनुभएको छ । आइतबार दाङमा नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सङ्कटग्रस्त दलित समुदायलाई जमिन र घरबासको व्यवस्था राज्यले गर्ने बताउनुभयो ।

संविधानले नै गरेको यो व्यवस्था जिल्ला जिल्लामा भूमि आयोग गठन हुने बित्तिकै कार्यान्वयनमा आउने पोखरेलले स्पष्ट पार्नुभयो । 

दलित समुदायले आफ्नो सिप र पेसालाई व्यवसायीक बनाउने कुरामा पनि ध्यान दिनु पर्ने उहाँले बताउनुभयो । अन्यथा जीवन विकासमा नै समस्या पर्ने उहाँले स्पष्ट पार्नुभयो । समाज रूपान्तरणको लाग पनि यो जरुरी रहेको पोखरेलले बताउनुभयो । 

दलित समुदायको भोट कहाँ जान्छ भन्ने कुरा मतदानको अघिल्लो दिन मात्र थाहा हुन्छ भन्ने मानसिकताले गर्दा दलित समुदायमा राजनीतिक सशक्तीकरण हुन नसकेको उहाँले बताउनुभयो । दलित समुदाय संगठित हुने हो भने राजनीतिक नेतृत्व विकास हुने पोखरेलको धारणा छ । ‘समुदायको नेताको वरिपरि समुदाय संठित हुनु पर्‍यो, संगठित जीवनमा हामी जति जोडिन सक्छौँ त्यति नै समुदाय सशक्त हुन्छ’, उहाँले भन्नुभयो । 

राजनीतिक परिवर्तन भइसकेकोले सामाजिक, आर्थिक र सांस्कृतिक सशक्तीकरण अबको आवश्यकता रहेको उहाँले बताउनुभयो । नेपाली समाज उदार समाज भएकोले सामाजिक रूपान्तरण सजिलै गर्न सकिने उहाँले दाबी गर्नुभयो । 

पोखरेलले विभेद अन्त्य र आर्थिक, सामाजिक सशक्तीकरणमा अब ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । राज्यले सामाजिक समानताको लागि गर्नुपर्ने सबै काम गरिसकेको भए पनि हाम्रा सांस्कृतिक मान्यतासँग विभेद जोडिएका उहाँले बताउनुभयो । त्यसैले अब सामाजिक र सांस्कृतिक परिवर्तनको क्षेत्रमा काम गर्नुपर्नेमा उहाँको जोड छ । सामाजिक विभेदबाट मुक्त हुनको लागि आर्थिक रूपमा सबल हुन पनि त्यतिकै जरुरी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top