होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली प्रदेश सरकारले सूचना लुकाउनु पर्ने गरि कुनै पनि काम नगरेको बताउनु भएको छ । आज सुर्खेतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले सरकारले गरेका काम जति धेरै जनताको माझ पुराउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य हुने बताए ।
प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरि समाजमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्ने काममा लागेको हुनाले सरकारले लुकाउनु पर्ने कुनै सूचना नभएको मुख्यमन्त्री कडेललको भनाई थियो । सरकारले गरेका राम्रा कामको सही रुपमा प्रचार नहुँदा जनताले केही नगरेको जस्तो बुझ्ने गरेको मुख्यमन्त्री कडेलले उल्लेख गरे ।
उनले भने "जनतालाई सूचना दिने कुराबाट प्रशासनिक संयन्त्र भाग्ने अवस्थाको अन्त हुनु पर्छ," सही सूचना दिदा कहाँ कस्ले के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने हुँदा कमजोरी गर्नेले समयमा सच्चिने अवस्था आउने मुख्यमन्त्री कडेलको दाबी थियो ।
कार्यक्रमा सहभागी प्रदेश सरकार र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सत्य सूचना नागरिकलाई दिन समेत मुख्यमन्त्री कडेलले निर्देशन दिए ।